विदुर(नुवाकोट), २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्नेबारे छलफल भइरहेको बताउनुभएको छ।
नुवाकोटको सदरमुकाम विदुरमा पार्टीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ढलौटको शालिक अनावरण कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धकाल र शान्ति संझौता पछि स्वर्गीय नेता बोगटी र उहाँको परिवारले ठूलो योगदान गरेको चर्चा गर्नुभएको थियो ।
उहाँले समसामयिक राजनीति र स्थानीय निर्वाचनको बारेमा बोल्दै सकेसम्म सत्तारूढ गठबन्धनबीच चुनावमा तालमेल गरेर अगाडि बढ्ने प्रयास भैरहेको बताउनुभयो।
चुनावमा तालमेल नभए एक्लै प्रतिस्पर्धामा उत्रने उहाँको भनाइ छ।

‘सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्छौं,’ नुवाकोटमा शनिबार भएको कार्यक्रममा प्रचण्डले भन्नुभयो।
उहाँले एमसिसी अनुमोदन गर्न गठबन्धनमा भएको सहकार्य चुनावसम्म नै कायम रहने विश्वास व्यक्त गर्नुभयो।
पूर्वप्रधानमन्त्री प्रचण्डले केन्द्रीय समितिबाट निर्णय गरेर पार्टी चुनावी अभियानमा लागेको पनि बताउनुभयो।
उहाँले अब प्रदेशस्तरीय भेला र प्रशिक्षण गरिने बताउनुभयो।
‘जनताको घरघरमा पुगेर पार्टीका उम्मेदवारलाई विजयी बनाउन अपिल गर्छौं,’ उहाँले भन्नुभयो ।
‘जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो तर सत्तारुढ बीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो।


















