Prakash Adhikari March 13, 2022

किएभ(युक्रेन), २९ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १ हजार ३ सय युक्रेनी सैनिक र झन्डै १२ हजार रुसी सैनिकको मृत्यु भएको दाबी गर्नुभएको छ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उहाँले शुक्रवारसम्म झन्डै ५ सय देखि ६ सय रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताउनुभएको छ।

तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताउनुभयो।

“उनीहरूले अनुमानित १२ हजार जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन… संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन”, उहाँले भन्नुभयो।

रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ। अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ।

कति सैनिकको मृत्यु भएको हुनसक्छ ?

केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५ हजार देखि ६ हजार रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो।

बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आकलन गरेका हुन्।

युक्रेनी सैनिक

युक्रेनी सैनिक

मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५ हजार देखि १८ हजार भएको बताइएको थियो।

प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ।

 

नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीले हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको बताएका थिए।

उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरेका थिए।

तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल प्रचार गर्ने हुँदा त्यस्ता दाबीहरू पुष्टि गर्न गाह्रो हुन्छ।

अहिलेको स्थिति
रुसले आक्रमण गरेको सत्रौँ दिन शनिवार आक्रमण भइरहँदा गैरसैनिक युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखे भने राजधानी किएभका बाह्य भागहरूमा सघन सङ्घर्ष जारी रह्यो।

शनिवारसम्म रुसी सेना राजधानीबाट २५ किलोमिटर नजिक पुगिसकेको छ।

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्न केही निकासमार्ग प्रस्तावित गरिएको थियो। तीमध्ये दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू छन्।।

युक्रेन

युक्रेन

रुसीले सेनाले मारिऊपोलको पूर्वपट्टि सहरको बाहिरी भाग कब्जा गरेको छ।

एक निजी अमेरिकी कम्पनीले शनिवार भूउपग्रहमार्फत् खिचेका तस्बिरहरूले सहरमा आवासीय र नागरिक पूर्वाधारमा व्यापक क्षति भएको पुष्टि गर्छ।

त्यहाँ रुसी घेराबन्दी जारी छ र सहरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेनाले नजिकैको सानो सहर भोल्नोभाखा छोडेको छ।

उनीहरूका अनुसार उक्त सहर पूर्ण रूपमा ध्वस्त भएको छ।

कब्जा गरिएको अर्को सहर मेलिटोपोलमा रुसी सेनाले नगरप्रमुखको अपहरणविरुद्ध सर्वसाधारण नागरिकहरूले गरेको ठूलो विरोध प्रदर्शन सामना गर्नुपर्‍यो।

राष्ट्रपति जेलेन्स्कीले नगरप्रमुखको अपहरणलाई युद्ध अपराधको सङ्ज्ञा दिनुभएको छ।

रुसी सेनाले किएभनजिकै अवस्थित एउटा गाउँबाट बाहिर जान लागेका महिला र बालबालिकासहितको समूहमाथि गोली चलाएको युक्रेनी अधिकारीहरूको दाबी छ। ‍उक्त आक्रमणमा परी सात जनाको मृत्यु भएको बताइएको छ।

मस्कोले भने उक्त आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

रुसी सेनाले त्यहाँ अर्का व्यक्तिलाई नगरप्रमुखको उत्तरदायित्व दिएको विवरण स्थानीय सञ्चारमाध्यममा आएको छ।

पहिला नगरपरिषद्‌मा कार्यरत गलिना दानिल्चेन्कोले स्थानीय टीभीमा देखा पर्दै नयाँ वास्तविकताअनुरूप आधारभूत संयन्त्र निर्माण गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको घोषणा गर्नुभएको छ।

उहाँले उक्त नगर सञ्चालन गर्न आफू जनताका सहायकहरूको एउटा समिति बनाउने तयारीमा भएको बताउँदै नगरवासीहरूलाई अतिवादी गतिविधिमा सहभागी नहुन आग्रह गर्नुभयो।

बीबीसीले उहाँको नियुक्तिको विषय स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

युक्रेनी शरणार्थी

युक्रेनी शरणार्थी

शरणार्थी सङ्कट
रुसी आक्रमण सुरु भएपछि अहिलेसम्म युक्रेनबाट २५ लाख मानिस अन्यत्र गइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

तीमध्ये १६ लाखभन्दा बढी मानिस शरण खोज्दै पोल्यान्ड पुगेको पोल्यान्डका सीमा सुरक्षाकर्मीले बताएका छन्।

युक्रेनबाट मल्डोभा पुग्ने शरणार्थीको सङ्ख्या २ लाख ७० हजार पुगेको छ। तीमध्ये १ लाख जना त्यहीँ बसेको बताइएको छ।

शरणार्थी आउने क्रम जारी रहेको बेला मल्डोभाका प्रधानमन्त्रीले अन्तर्रााष्ट्रिय सहयोगका लागि आग्रह गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अहिलेको यो शरणार्थी सङ्कट युरोपमा दोस्रो विश्वयुद्धपछि देखा परेको सबैभन्दा ठूलो हो।

यूनिसेफका अनुसार शरणार्थीमध्ये आधाजति बालबालिका र कम उमेरका मानिस छन्।

अमेरिकाको प्रतिक्रिया
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसी आक्रमणले युरोपभरिको प्रजातन्त्र र सुरक्षालाई जोखिममा पारेको र कुनै पनि ठाउँको प्रजातन्त्र जोखिममा पर्दा यसले हामी सबैलाई असर पार्नेू चेतावनी दिनुभएको छ।

ह्यारिसले शनिवार पोल्यान्ड र रुमेनीयाको भ्रमणबाट फर्किएपछि उक्त टिप्पणी गर्नुभएको हो।

बाइडन सरकारले युक्रेनलाई थप सहयोग गर्नुपर्ने दबावको सामना गरिरहेको छ। अमेरिकाले भने युक्रेनमा कुनै किसिमको उडान गर्न नपाइने ूनो(फ्लाई जोनू लागु गरेर रुससँग प्रत्यक्ष द्वन्द्व ननिम्त्याउने कुरामा जोड दिँदै आएको छ।

यद्यपि केही सर्वेक्षणहरूका अनुसार अमेरिकी जनताले युक्रेनका बारेमा चासो देखाइरहेका छन्।

तिनमा ४५ प्रतिशतले युक्रेनमा नोफ्लाई जोन लागु गर्ने विषयमा समर्थन जनाएका छन्।

अमेरिकालाई रुसको चेतावनी

रुसका उपविदेशमन्त्री सर्गेई र्‍याब्कोभले युक्रेनलाई अस्त्र आपूर्ति गर्ने पश्चिमा देशका वाहनहरूलाई रुसी सेनाले निसाना बनाउन सक्ने चेतावनी दिनुभएको छ।

“हामीले अमेरिकालाई केही देशबाट युक्रेनमा अस्त्र पठाउने योजना केवल खतरनाक कदम मात्र नभएको बरु त्यस्तो कदमले ती वाहनहरूलाई रुसको वैधानिक निसाना बनाउन सक्ने चेतावनी दिएका छौँ “, उहाँले सरकारी टीभीमा बोल्दै भन्नुभयो।

युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली र ट्याङ्कभेदक क्षेप्यास्त्र पठाइनु दुस्साहस भएको र अमेरिकाले रुसको चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो।

 

Share Now

Leave a comment.