Prakash Adhikari October 20, 2017


काठमाडौँ, २ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँहरुले दीपावली अर्थात लक्ष्मीपूजाको दिन अलग अलग शुभकामना दिनुभएको हो ।

दीपावलीको अवसरमा बिहिबार शुभकामना दिँदै राष्ट्रपति भण्डारीले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालो ल्याउन सकोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न दीपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।


त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद् अवसरमा दिनुभएको शुभकामना सन्देशमा उज्यालो र रङ्गहरूको महान पर्व तिहारले नेपालीहरूको धार्मिक, सांस्कृतिक सहिष्णुता, एकता, सहकार्य र सम्मिलनमा अझ प्रगाढता ल्याउँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाल विविध धर्म र संस्कृतिको बहुपहिचानयुक्त मुलुक भएको उल्लेख गर्दै नेपालका विविध साँस्कृतिक पर्वहरूले नेपाली समाजमा भातृत्व र भावनात्मक एकताका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका बताउनुभएको छ । उहाँले यस पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने सदिच्छा व्यक्त गर्नुभएको छ ।

साथै उनले राष्ट्रिय एकता र विकासको मार्गमा हिँड्न यो पर्वले सम्पूर्ण नेपालीलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना समेत दिनुभएको छ ।

 

Share Now

Leave a comment.