Prakash Adhikari March 25, 2022

काठमाडौं, ११ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आइपुग्नुभएको छ।

तीन दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौं आउनुभएका चीनका विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गर्नुभएको थियो।

विदेशमन्त्री वाङ दक्षिण एशियाका पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण समाप्त गरी काठमाडौं आइपुग्नुभएको हो।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएका विदेशमन्त्री याड. यी सहितको चिनिया प्रतिनिधि मण्डल बत्तीसपुतलीस्थित होटल द्वारिकामा बसेको छ।

भेटघाट र वार्ता

विदेश मन्त्री यीको राजनीतिक भेटघाट तथा दुई देशबीचको पारस्पारिक वार्ता शनिबारदेखि सुरु हुनेछ । शनिबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

वार्तापछि दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

शनिबार दिउँसो उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारस्थित सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

शनिबार साँझ नै परराष्ट्रमन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नुहुनेछ।

आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट हुनेछ।

त्यसपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट हुनेछ।

चिनियाँ विदेशमन्त्री वाङ प्रतिनिधि मण्डलसहित आइतबार बेइजिङ प्रस्थान गर्नुहुने कार्यक्रम छ।

Share Now

Leave a comment.