Prakash Adhikari March 28, 2022

काठमाडौं, १४ चैत्र । सामना बैंकिड. पुरस्कार गुठीले यस बर्ष दुई जना बैंकिड. तथा वित्तीय क्षेत्रका पुस्तक लेखक र दुई जना बैंकिड. तथा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गरेको छ ।

गुठीले सामना वैकिंग पुरस्कारको लागि “बैंकिड. ल इन नेपाल”का लेखक रेशमराज रेग्मी र “नेपालका आधुनिक मुद्राहरू : एक समीक्षा”का लेखक श्याम खतिवडालाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरेको छ ।

त्यस्तै गुठीले पत्रकारिताको माध्यमबाट बैंकिंग/ वित्तीय क्षेत्रमा योगदान गरेवापत दिइने प्रत्येक दुई वर्षमा दिइने रु ४० हजारको सामना बैकिंग पत्रकारिता पुरस्कार वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी (प्रधान सम्पादक, टक्सार मासिक म्यागाजिन) र डिजिटलमा वरिष्ठ आर्थिक पत्रकार रमेश ढकाल(इमेज टिभी)लाई संयुक्तरुपमा दिएको छ ।

गुठीको साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरद्धय गणेशबहादुर थापा र विजयनाथ भट्टराई तथा पूर्वमहालेखापरीक्षक भानुप्रसाद आर्चाय र सामना गुठीका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बिजेताहरुलाई प्रमाणपत्र, नगद र पुष्पहार प्रदान गरेर सम्मानित गर्नुभएको थियो ।

अर्थविद् डा. रेवतबहादुर कार्कीले नेपालको बैंकिंग/ वित्तीय क्षेत्रलाई अध्ययन,अनुसन्धान र लेखनको क्षेत्रबाट प्रबर्धन गर्न चाहने वा गरिरहेका व्यक्तिहरुलाई सम्मानित गर्ने उद्देश्यले २०६२ सालमा यो गुठीको स्थापना गर्नुभएको थियो ।

यस गुठीले हालसम्म चार विधालाई समेटेको छ । बैकिग /वित्तीयसम्बन्धी उच्चकोटीका अनुसन्धनात्मक/ विश्लेषणात्मक ग्रन्थहरुका लेखकलाई प्रोत्साहित गरे्न २०६६सालदेखि प्रत्येक दुई वर्षमा रु ५० हजारको बैंकिग पुरस्कार दिन थालिएको हो।

२०७०सालमा बैंकिंग पत्रकारिता क्षेत्रमा विशेष योगदान गर्ने पत्रकारलाई प्रत्येक दुई वर्षमा रु १५ हजारको बैंकिग पत्रकारिता पुरस्कार प्रदान गर्ने तथा २०६३ सालदेखि प्रत्येक वर्ष रु १० हजारको बैंकिग छात्रवृत्ति त्रिवि अर्थशास्त्र केन्द्रीय विभागको प्रथम वर्षका जेहन्दार विद्यार्थीलाई दिइने व्यवस्थाको थालनी भएको हो ।

२०७३ सालमा उक्त बैंकिंग पुरस्कार रु ५० हजारबाट रु ७५ हजार पुर्याइएको छ भने पत्रकारिता पुरस्कार रु १५ हजारबाट २५ हजार पुर्याइयो । पत्रकारितातर्फको पुरस्कार राशी २०७८ सालमा रु ४० हजार पुर्याइएको छ । यस्तै अर्थशास्त्रमा
स्नातकोत्तर गर्ने जेहेन्दार छात्रवृत्तिको रकम पनि २०७१ सालदेखि बृद्धि गरी १५ हजार रुपैया पुर्याइएको छ ।

सामना बैंकिड. तर्फ २०७५ र ७६ सालमा उत्कृष्ट पुस्तक प्राप्त नभएकोले प्रदान गरिएको थिएन । २०७३ माः इसेन्सियल्स् अफ कमर्सियल बैंक म्यानेजमेण्ट नामक पुस्तकका लेखक प्रा.डा. परासर कोइरालालाई रु ५० हजारको पुरस्कार प्रदान गरिएको थियो। योभन्दा अघि२०७२ सालमा तेश्रो पुरस्कार भोलाराम श्रेष्ठ र देवेन्द्रबहादुर राउतलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । त्यस्तै दोश्रो पुरस्कार लेखकद्वय राजनविक्रम थापा र दीर्घवहादुर रावललाई र प्रथम पुरस्कार लेखकद्वय डाः रमा बस्याल र वरिष्ठ पत्रकार भरत भूर्तेल (मराणोपरान्त)द्धारा बैंकिंग र वित्तीय क्षेत्रमा लेखिएका दुई पुस्तकहरुलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

हालसम्म ८ ग्रन्थका १० लेखकहरु गुठीबाट पुरस्कृत भैसक्नुभएको छ ।

 

No description available.

पत्रकारिताको पुरस्कार रकम रु १५ हजारवाट रु २५ हजार बृद्धि गरेपछि तेस्रो सामना बैंकिंग पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार यज्ञ बन्जाडेले प्राप्त गर्नुभएको थियो । २०७३ सालमा दोश्रो सामना बैंकिंग पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका वरिष्ठ पत्रकार हिमाल न्यौपाने र २०७०मा पहिलो पत्रकारिता पुरस्कार कारोबार राष्ट्रिय आर्थिक दैनिकका वरिष्ठ पत्रकार लोकबहादुर चपागाईलाई प्रदान गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागमा दोश्रो वर्ष अध्ययन गर्ने विद्यार्थीहरुमध्ये प्रथम वर्षको परीक्षामा उत्तिर्ण भई इकोनोमिक्स अफ डेभलपमेण्ट एण्ड प्लानिड.विषयमा सबैभन्दा उच्चतम अंक ल्याई प्रथम हुने विद्यार्थीलाई प्रत्येक वर्ष २०६३ को शैक्षिक वर्षदेखि डा. रेवत छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको हो । सो छात्रवृत्ति २०७० सालमा नै बृद्धि गरी रु १५ हजार पुर्याउने निर्णय गरिएको थियो । सो पुरस्कारबाट हालसम्म ९ विद्यार्थी लाभान्वित भैसकेका छन् ।

तर २०७५ सालदेखि तीन वर्षको यस्तो छात्रवृत्ति आज दिने व्यवस्था गरिएकोमा त्रिविवि परीक्षा नियन्त्रण कार्यालय तालाबन्दीको कारणले त्यस्तो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको नाम पाउन नसक्दा यस्तो छात्रवृत्ति प्रदान गर्न नसकिएको गुठीले जनाएको छ ।

अर्थविद डा. रेवतबहादुर कार्कीद्वारा स्थापना गरिएको यस गुठीको अक्षय कोषमा हाल करिब रु ३५ लाख रहेको छ । यस कोषबाट आर्जित ब्याजआयबाट गुठीले पुरस्कार र छात्रवृत्ति दिदै आएको छ ।

नेपालमा बैंकिड. क्षेत्रमा यस्तो किसिमको पुरस्कार प्रदान गर्ने यो मात्र एक राष्ट्रिय संस्था हो ।

गुठीले हरेक विधाका पुरस्कार चयनका लागि संबन्धित क्षेत्रका विज्ञहरुको सिफारिस समिति बनाएर त्यसको आधारमा उपयुक्त पात्र चयन गर्ने गरेको छ ।

सोमबार भएको गुठीको साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापा, बिजयनाथ भट्टराई र गुठीका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति डा.रेवतबहादुर कार्कीले सम्बोधन पनि गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुन स्वीकृति दिनुभएका तर उपस्थित हुन नसक्नुभएका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सन्देश वाचन गरिएको थियो ।

Share Now

Leave a comment.