काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतको नेतृत्वमा आएको नुवाकोट जिल्लाको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र प्रस्तुत गरेको छ ।
प्रतिनिधि मण्डलले नुवाकोट जिल्लाको जल्दाबल्दा समस्याहरु तुरुन्त समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
प्रधानमन्त्रीसंगको भेटमा प्रतिनिधि मण्डलका तर्फबाट डा.महतले ककनी हुदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभइ अलपत्र परेकोले जनजीवन कष्टकर भएको विषयलाई राख्नुभएको थियो ।
उहाँले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै संबन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताउनुभएको थियो ।
ज्ञापन पत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साउटको व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ ।
स्थानीय बासिन्दाहरुले फोहररहित मानव बस्ती मानववस्तीरहित फोहर मैला व्यवस्थापन क्षेत्रको अवधारणा अनुरुप फोहर मैला व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।
पूर्वमन्त्री समेत रहनुभएका डा.महत ककनीमा नेपाली कांग्रेसले आयोजना गरेको गाउँगाउँ जार्औ, नेपाली कांग्रेस जिताऔं अभियान अन्तरगतको प्रशिक्षणमा सहभागी भएर फर्कदा स्थानीयले फोहरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्री समक्ष पुर्यादिन अनुरोध गरेका थिए ।
यस्तै ज्ञापन पत्रमा नुवाकोटका विभन्न दुर्गम गाँउपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ ।

नुवाकोटको प्रतिनिधि मण्डलसंगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु तत्काल पूरा गर्नका लागि सम्बन्धित निकायका प्रमुखहरुलाई बोलाएर तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवासंगको भेटका अवसरमा प्रवक्ता डा.महतका अतिरिक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपाने लगायत नगरसमितिका अध्यक्षहरुले पनि समस्याका बारेमा प्रकाश पार्नुभएको थियो ।


















