Prakash Adhikari April 1, 2022

नयाँ दिल्ली(भारत), १८ चैत्र। भारतको औपचारिक भ्रमणमा शुक्रबार दिउँसो दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा अपरान्हदेखि नै उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग आजै अपराह्न भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

भेटका अवसरमा दुवै नेताहरुबीच पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा छलफल भएको थियो।

छलफलमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले दिनुभएको जानकारी अनुसार छलफलमा नेपाली काङ्ग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध अझ मधुर बनाउनेबारे पनि विचार विमर्श भएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्रीका साथ प्रथम महिला डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव रहनुभएको थियो ।

भारतीय विदेश सचिवद्धारा प्रम देउवासंग भेट

आजै साँझ प्रधानमन्त्री देउवासँग भारतका विदेश मामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गर्नुभयो ।

विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री देउवा बस्नुभएको दिल्लीको होटल आईटीसी मौर्यमा भेट्नु भएको थियो ।
भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले यहाँस्थित नेपाली दूतावासमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री देउवाले भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुनेछ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीको सम्मानमा दिवा भोजको आयोजना गर्नेहुनुभएको छ ।

भोलि रेल र सोलु करिडरको उद्घाटन कार्यक्रम

भोलि वार्तापछि भारतीय सहयोगमा बनेको ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा तथा सोलु कोरिडोर प्रसारण लाइनको दिल्लीबाट दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै नेपालमा निर्माणाधीन १ सय ३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

 

Share Now

Leave a comment.