Prakash Adhikari April 7, 2022

काठमाडौं, २४ चैत्र । साल्ट ट्रेडिङ कर्पोरेसन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा कृषि सामग्रीको आपूर्ति र आर्थिक अनुदान सहायतासम्बन्धी तीन दिने गोष्ठी राजधानीमा सुरु भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा आयोजना भएको उक्त गोष्ठीमा दैनिक उपभोग्य कृषि उपज, तिनको उत्पादन बृद्धि र अनुदान सहयोगको बारेमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरी छलफल गरिने बताइएको छ ।

कृषि उपजको उत्पादन र माटोको उत्पादकत्व अभिबृद्धिको लागि उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित निष्कर्ष निकालिने आयोजकहरुले बताएका छन्।

सम्मेलनमा नेपालका उच्चपदस्थ कर्मचारीहरुका साथै भारतको निजी तथा सरकारी क्षेत्रमा कार्यरत विज्ञहरु र कृषिको क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला निकायका व्यक्तिहरु सहभागी रहनुभएको छ।

उक्त गोष्ठीकोउद्घाटन शत्रमा साल्ट ट्रेडिङका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले नेपाल र भारतका सरोकारवाला सहभागी यस गोष्ठीले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो।

यस गोष्ठीले मल, बीउ, कृषि प्रणालीदेखि कृषिमा प्रयोग हुने मेसिनरीको हालको अवस्थामा अब लिनुपर्ने नीति र प्रयोगबारे छलफल गर्ने बताइएको छ।

साल्ट ट्रेडिड.का अध्यक्ष श्रेष्ठका अनुसार यो गोष्ठी कृषिको समग्र प्रक्रियालाई आधुनिकीकरण गर्ने विषयमा केन्द्रित रहनेछ। यसमा उन्नत बीउ, मलको प्रयोग, आधुनिक औजार र बजारीकरणको विषयलाई समेत छलफलमा ल्याएर त्यसमा समाधान दिइनेछ।

हाम्रोजस्तो भौगोलिक बनावट भएको देशले कसरी कृषिमा फइदा लिने विषयमा छलफल हुने बताइएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन एक सरकारको समेत लगानी रहेको एक संस्थान हो। यस कम्पनीले खाद्यान्न, तेल,चिनी,नून, रासायनिक मलको बिक्री वितरण गर्नुको साथै एलपीजी ग्यासको वितरणको जिम्मेवारी निर्वाह गर्दै आएको छ।

आफ्नो जिम्मेवारी समयमा पूरा गरेर सरकारबाट विश्वासिलो छाप बनाएको यस संस्थानले कृषिको विकासमा थप काम गर्ने योजना समेत बनाएको छ।

Share Now

Leave a comment.