किएभ(युक्रेन), १ बैशाख(बीबीसी) । युक्रेनमा आक्रमणको दुई महिनाभित्र रुसले सयौँ ट्याङ्क गुमाएको ठानिएको छ।
सैन्य विज्ञहरूले रुसको त्यस्तो क्षतिका निम्ति पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका ट्याङ्क ध्वस्त पार्ने विकसित हतियारहरू र रुसले कमजोर तरिकाले आफ्ना ट्याङ्कहरूको प्रयोग गर्नु कारण रहेको बताएका छन्।

जाभेलिन क्षेप्यास्त्रले थुप्रै रुसी ट्याङ्क ध्वस्त पारेका छन्
रुसले ट्याङ्कहरू गुमाउनु कति ठूलो कुरा
ओरिक्स नामक सैन्य तथा गुप्तचर मामिलासम्बन्धी एउटा ब्लगले युक्रेनमा रुसको सैन्य क्षतिको गणना गर्ने गर्छ। युद्धक्षेत्रबाट आएका तस्बिरहरूको आधारमा उसले त्यस्तो अभिलेख राख्ने गरेको छ।
उसले दिएको पछिल्लो विवरण अुसार रुसले युक्रेनमा २० हजार सैनिक गुमाउनुका साथै ७ सय ४० वटा ट्याङ्क र झण्डै २ हजारवटा बख्तरबन्द सवारीसधानहरू गुमाएको दाबी गरेको छ। रुसका ३ सय विमान र ४ सय ७० तोप गोला प्रहार गर्ने प्रणाली नष्ट गरिएको पनि दाबी गरिएको छ।
र्याण्ड कर्पोरेसन र आइएसएसका अनुसार रुससँग द्वन्द्वको सुरुमा लडाइँमा प्रयोग गर्ने करिब २ हजार ७ सय ट्याङ्कहरू रहेको थियो।
द्वन्द्वको सुरुमा अमेरिकाले युक्रेनलाई ट्याङ्क ध्वस्त पार्न सक्ने २ हजार ज्याभलिन क्षेप्यास्त्रहरू आपूर्ति गरेको थियो। त्यसयता कम्तीमा २ हजार थप क्षेप्यास्त्र पठाइसकेको छ।
यूकेले पनि हालसम्म कम्तीमा ३ हजार ६ सय एनएलएडब्लु क्षेप्यास्त्र पठाइसकेको छ।
ज्याभलिनका निर्माता लकहिड मार्टिनका अनुसार हतियार कमजोर हुने ट्याङ्कको माथिल्लो भागमा क्षेप्यास्त्र विस्फोट गर्न ज्याभलिन प्रहार गर्न सकिन्छ।

रुसी धेरै ट्याङ्कहरूमा क्षेप्यास्त्रका असर
धेरै रुसी ट्याङ्कहरूमा रियाक्टिभ आर्मर भनिने विशेष प्रकारको सुरक्षा कवच जडान गरिएको हुन्छ जस्ले क्षेप्यास्त्र हमलाको विस्फोट सहन सक्छन्।
ज्याभलिन क्षेप्यास्त्रहरूमा दुईवटा युद्धशीर्ष जडान गरिएको हुन्छ। एउटाले रियाक्टिभ आर्मरलाई उडाइदिन्छ र अर्कोले त्यसको मुनि रहेको ट्याङ्कको संरचना च्यासिलाई छेड्ने काम गर्छ।
त्यस्तै, युकेले युक्रेनलाई पठाइरहेको एनएलएडब्लु क्षेप्यास्त्र भने तुलनात्मक रुपमा कमजोर ट्याङ्कको माथिल्लो भागमा पुगेर विस्फोट हुने गरि बनाइएको हुन्छ।
“ज्याभलिन र एनएलएडब्लु दुवै एकदमै शक्तिशाली छन्”, रोएल युनाइटेड सर्भिसेस इन्स्टिट्युटमा स्थलगत लडाइँसम्बन्धी अनुसन्धानकर्ता निक रेनल्ड्सले भन्नुभएको छ, “यस्ता घातक सहायता बिना युक्रेनको अवस्था निकै फरक हुनसक्थ्यो।”
अमेरिकाले युक्रेनलाई ट्याङ्क ध्वस्त पार्ने १०० वटा ‘स्विचब्लेड ड्रोन’हरू पनि प्रदान गर्दैछ।
‘कामिकाजि’ भनिने ड्रोनहरू कोसौँ टाढा उडेर गई ट्याङ्कको माथि खस्न सक्छन् र आफ्नो युद्धशीर्षले ट्याङ्कलाई ध्वस्त पारिदिन सक्छन्।

आकाशबाट देखिएको रुसी ट्याङ्को दृश्य
ट्याङ्कको कम बचेको भाग भनेकै माथिल्लो भाग हो, आधुनिक क्षेप्यास्त्रले त्यसैलाई निसानामा राख्ने गर्छ
रुसी असक्षमता
ओरिक्सको तथ्याङ्क अनुसार रुसले गुमाएका आधा ट्याङ्कहरूलाई युक्रेनले ध्वस्त नपारेर आफ्नो कब्जामा राखेको वा यत्तिकै अलपत्र छाडेको छ।
विज्ञहरुले यसलाई रुसी फौजको असक्षमता र बन्दोबस्तीको विफलता भनेका छन्।
“युक्रेनी किसानका ट्र्याक्टरले रुसी ट्याङ्कलाई तानिरहेका दृश्य तपाईँले देख्न सक्नुहुन्छ”, सेन्ट एन्ड्र्यूज विश्वविद्यालयमा रणनीतिक अध्ययन मामिलाका प्राध्यापक फिलिप्स ओुब्रायनले भन्नुभयो, “तीमध्ये केही ट्याङ्कहरूमा इन्धन सकिएकाले त्याग गरिएको छ। त्यो भनेको बन्दोबस्तीसम्बन्धी विफलता हो। केही भने उच्च पदमा रहेकाले गलत याममा आक्रमण गरेकाले मौसमी हिलोमा फसेका छन्।”

युक्रेनमा क्षेप्यास्त्र प्रहार गर्ने लञ्चरलाई ट्र्याक्टरले तान्दै
“रुसको स्थलगत फौजमा थुप्रैलाई जबरजस्ती भर्ती गरिएको छ। त्यसले गर्दा लडाकु फौज न्यूनदेखि मध्यम गुणस्तरका छन्”, निक रेनल्डस्ले भन्नुभयो, “ट्याङ्कहरू चलाउन नजान्दा थुप्रै काम नलाग्ने भएका छन्। फौजमा आफ्ना उपकरण प्रयोग गर्ने क्षमता कम भएको छ।धेरैजसो, सेनाले गाडीहरू त्यागेर भागेका छन्। त्यसैले लडाइँ गर्ने इच्छाशक्तिमै कमी आएको देखिन्छ।”


















