Prakash Adhikari April 22, 2022

 

काठमाडौं, ९ बैशाख । नेपाल वायुसेवा निगमले नेपालको राजधानी काठमाडौबाट साउदी अरेबियाको रियादमा नियमित व्यवसायिक उडान आजदेखि सुरु गरेको छ।

नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुुई वटा उडान सञ्चालन गर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान ५ः१५ बजे प्रस्थान गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियाद उडानका लागि मिति गत फागुन २२ गते उडान अनुमति प्राप्त भएको हो ।

अनुमति प्राप्त भएको छोटो अवधिमा नै निगम व्यवस्थापनले उक्त गन्तव्यमा आफ्नो नियमित उडान सुरु गरेको निगमले जनाएको छ।

निगमले हाल भारतको दिल्ली, मुम्बई र बैंग्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको टोकियोस्थित नारिता विमानस्थलमा उडान सञ्चालन गर्दै आएको थियो । अब निगमले साउदी अरेबियाको रियादसहित अब ८ मुलुकका १० वटा गन्तव्यहरुमा उडान सञ्चालन गर्ने भएकोे छ।

उक्त गन्तव्यहरुमध्ये निगमले दिल्लीमा दैनिक दुई वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरुमा साप्तहिक रुपमा क्रमशः मुम्बई, बैङ्लोर, क्वाललम्पुर, नारिता र बैंककमा ३–३ वटा, कतारको दोहा र युएईको दुबईमा ५ । ५ र हङकङमा एक उडान सञ्चालन गर्दै आएको छ।

त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारीसमेत निगमको रहेको जनाएको छ।

Share Now

Leave a comment.