काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते दुई दिन मनोनयन दर्ता गर्न सक्ने बताएको छ ।
एकैदिन मनोनयन दर्ता गराउँदा हुने अत्यधिक चापलाई दृष्टिगत गर्दै दुई दलहरूलाई मनोनयन दर्ताका लागि दुई दिनको समय दिनुपरेको आयोगको भनाइ छ ।
‘स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौँ महानगरपालिकामा जम्मा ८ सय ६०, विराटनगर महानगरपालिकामा ७ सय ३ र वीरगन्ज महानगरपालिकामा १ हजार १ सय २५ जनाको मनोनयन पत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयन पत्र दर्ता गर्ने कार्यचाप अत्यधिक रहेकोले उक्त दिन मनोनयन पत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरूको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयन पत्र दर्ताको समय दुई दिनका लागि तोकेको छ’, आयोगले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
७ सय ५३ वटै स्थानीय तहहरूमा मनोनयन दर्ता भएपछि आयोगले वैशाख १२ गते नै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ ।
यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ ।
यस्तै वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।


















