Prakash Adhikari April 29, 2022

 

काठमाडौं, १६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले)ले राजधानी काठमाडौंबाट मेयर पदमा उम्मेदवार बनाएका केशव स्थापित दुई ठूला आरोपले लेखेटिनुभएको छ ।

उहाँमाथि पहिले राजधानीकै मेयर हुँदा महिलामाथि यौन हिंसा गरेको आरोप एकातिर छ भने उहाँले काठमाडौं महानगरपालिकामा मेयर बन्दा लिएको रकम नतिरेको आर्थिक अनियमितिताको आरोप पनि अहिले उजागर भएको छ ।

महिला हिंसाले उत्तेजित

बिहिबार काठमाडौंका नेसनल कलेजले काठमाडौंका मेयरका प्रत्यासीलाई राखेर ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रम राखेको थियो । आयोजक विद्यार्थीहरुले स्थापितलाई लागेको मीटू (यौन हिंसामा परेका महिलाहरुले आफूमाथि हिंसा र हिंसाका विरुद्ध बोल्ने अभियान)मार्फत आएको आरोपबारे प्रश्न गरेका थिए । तर प्रश्न झर्न नपाउदै मेयरका प्रत्यासी स्थापित एकाएक जङ्गिएर प्रश्नकर्तामाथि जाइलाग्नुभयो ।

अन्तरक्रियाका कार्यक्रमकी प्रस्तोता भावना राउतले मीटू आरोपबारे प्रश्न सोध्नुभएका थियो । प्रश्न आउने वित्तिकै उहाँ आफू बसेको कुर्सीबाट नै उठेर प्रश्न गर्ने विरुद्द नै जंगिनुभयो । ‘म जत्तिको मान्छेलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनुपर्छ’ स्थापितले उल्टै प्रश्न गर्ने विद्यार्थीसंग आक्रोशित हुँदै भन्नुभयो ‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठीक छैन ।’

उहाँले पटक पटक आक्रोश पोख्दै भन्नुभयो, ‘केशव स्थापित रीसको भाँडा हो । नरिसाउनु भन्न पाइन्छ ।’ उहाँले आफू कराँते खेलाडी पनि भएकाले रीस उठ्ने बताउनुभयो ।

प्रस्तोता राउतले कि निर्दोष छु भनेर कि प्रमाणित गर्नुस्, प्रमाणित गर्न नसक्ने भए यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ ? भनेर जिज्ञासा राख्नुभएका थियो।

सहभागी एकजना पुरुषले पनि स्थापितमाथि प्रश्न उठाउदै आरोप लागिसकेपछि त्यसलाई कि गलत पुष्टि गर्न होइन भने सार्वजनिक पद नताक्न स्थापितलाई चुनौती दिनुभएको थियो ।

पूर्व मेयर र प्रदेश मन्त्री र प्रदेशसभा सदस्य रहिसक्नुभएका स्थापितमाथि उहाँ मेयर रहदा दुईजना महिलामाथि यौन हिंसा गरेको आरोप छ ।

२०५४ सालमा काठमाडौं महानगरपालिका प्रमुख निर्वाचित हुुनुभएका स्थापितमाथि पूर्वकर्मचारी महिलामाथि नै यौन हिंसा गरेको आरोप छ।

रश्मिला र उज्ज्वला मुखर

२०६० साल कार्तिक २ गतेको निर्णय भन्दै काठमाडौं महानगरमा कार्यरत रश्मिला प्रजापतिलाई ३ गतेदेखि कार्यालयमा नआउने पत्र दिइयो ।

रश्मिलालाई बदनाम गराउन त्यसबेलाका नगरपिता स्थापितले आफू निकट पत्रिकामा उनले भ्रष्टाचार गरेको लेखाउनुभयो । भ्रष्टाचार गरेको भए अख्तियारमा उजुरी दिनुपर्ने तर उनी विरुद्ध उजुरी भएन ।

प्रजापति अहिले सम्झिँदै भन्छिन्, ‘ऊ यौन दूराचारी थियो । मलाई प्रयोग गर्न खोज्यो म भइन । अन्तमा केही नलागेपछि मलाई निकालियो ।

प्रजापतिलाई मेयर स्थापितले कहिले धुलिखेल त कहिले नगरकोट घुम्न जाने प्रस्ताव राख्ने गरेको कुरा रश्मिलाले आफैले लेखेर छापेपछि सार्वजनिक भयो । नगरपिताले र प्रतिशोध साँध्नुभएको रहेछ ।

रश्मिलाले सन् २०१७ मा लेखमार्फत आफूमाथि भएको यौनजन्य हिंसा र रोजगारीबाट निष्काशनको विरोध जनाउनुभयो। त्यसमा स्थापितको नाम उल्लेख थिएन । सन् २०१८ मा अर्की एक संचारकर्मी उज्वला महर्जनले आफूमाथि स्थापितले यौन हिंसा गरेको कुरा लेख्नुभयो । ‘उज्ज्वला महर्जनले लेखेपछि रश्मिलामा पनि साहस आयो र २०१८ मा नाम नै राखेँ र अर्को लेख प्रकाशित भयो ।

नेकपा एमाले स्थापितलाई पुनः राजधानीको मेयर बनाउने निर्णय गरेपछि रश्मिलाले सामाजिक संजालमा लेख्नुभयो, ‘एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक ‘यौन दूराचारी’ लाई उठाएको छ र पद पाउने भएपछि खुवै महिलाको वकालत गर्ने एक युवा महिला तिनै दूराचारीको मतियार बन्न तयार भए, छि कति दुर्गन्धित राजनीति ’

बैशाख १० गतेको यो स्टाटसलाई परिमार्जन गर्दै बैशाख ११ गते उहाँले लेख्नुभयो, ‘म एमाले पार्टीको विरोधी होइन, सो पार्टीमा थुप्रै राम्रा व्यक्तिहरु पनि छन् । तर एउटा जिम्मेवार दलले यौन दूराचारी मात्र होइन हालसम्मकै भ्रष्टलाई मेयर उम्मेदवारी दिएकोमा विरोध हो । गलत व्यक्ति र गलत प्रवृत्तिको विरोध हो ।’

३ करोडको भ्रष्टाचार के भयो

एमालेबाट मेयर प्रस्तावित स्थापित यौंन हिंसामा मात्र हैन, भ्रष्टाचारमा पनि जेलिनुभएको छ ।

Image

उहाँ मेयर भएको बेलामा आर्थिक बर्ष २०५४।५५ मा परेको भ्रष्टाचारसम्बन्धि उजुरीमा छानविन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६२ सालमा उहाँबाट चुंगीकर ठेक्का प्रकरणमा ३ करोड ८५ लाख ५० हजार ११३ रुपैया २७ पैसा भ्रष्टाचार भएको ठहर गरी सो रकम बुझाउन स्थानीय विकासमन्त्रालयलाई निर्देशन सहित पत्राचार गरेको थियो ।

स्थानीय विकास मन्त्रालये महानगरपालिकालाई पत्र पठाएपछि उहाँले नै नेतृत्व गरिसकेको काठमाडौं महानगरपालिकाले २०६२ साल चैत्र १३ गते ३५ दिनभित्र कामनपमा सो रकम बुझाउन र नबुझाएमा सरकारी बाँकी सरह असुल उपर गरिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सो रकम बुझाए नबुझाएको आजसम्म उहाँले स्पष्टीकरण दिनुभएको छैन । तर निर्वाचन आयोगले बुधबार गरेको निर्णयले महालेखाको प्रतिवेदनमा उल्लेख भएको बेरुजुमा परेकालाई मात्र अयोग्य बनाउने निर्णय गरेकोले अख्तियारले असूल उपर गर्न दिएको निर्देशन र भ्रष्टाचार नै गरेको किटानी भएको विषयमा के हुन्छ भन्न सकिएको छैन ।

भ्रष्टाचार किटानी भएकोले सो रकम भुक्तानी नभएको भए उहाँको उम्मेदवारी थप विवादमा पर्नेमा कुनै सन्देह छैन ।

 

Share Now

Leave a comment.