काठमाडौं, १६ बैशाख । नेपाली कांंग्रेसले पार्टी निर्णयको अवज्ञा गर्दै स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकहरुलाई स्वतः पार्टीबाट निष्काशन गर्ने भएको छ ।
यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय समिति र केन्द्रीय कार्य सम्पादन समिति र आधिकारिक संसदीय समितिको निर्णयको अवज्ञा गर्ने बागीहरुलाई नियन्त्रण गर्न कांग्रेसले सो निर्णय गरेको हो ।
प्रतिगमनबाट मुलुकको लोकतन्त्र र संविधानलाई जोगाउन सत्तारुढ गठबन्धनमा सामेल दलहरुबीच स्थानीय तह निर्वाचनमा पनि तालमेल भएको छ । यो तालमेल अनुसार आधिकारिक निकायबाट भएका निर्णय विरुद्ध उम्मेदवारी दिने र तिनका प्रस्तावक समर्थकलाई पनि उम्मेदवारी फिर्ता लिन कांग्रेसले दवाव दिइरहेको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ ।


















