Prakash Adhikari May 2, 2022

 

किएभ(युक्रेन), १९ बैशाख । संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले रुस र युक्रेनले युद्धविरामको समयमा युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिऊपोलको एजोभस्टाल स्टिल उद्योगबाट सर्वसाधारणहरूको उद्धार जारी रहेको बताउनुभएको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पनि मारिऊपोलमा रोकिएका सर्वसाधारणको उद्धार कार्य चलिरहेको बताएको छ।

“युद्धरत पक्ष र राष्ट्रसङ्घको समन्वयनमा सर्वसाधारणहरूलाई सुरक्षित निकास दिने काम जारी छ”, रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीका प्रवक्ताले भन्नुभएको छ।

एजोभस्टाल स्टिल उद्योग क्षेत्र मारिऊपोलमा अझैसम्म युक्रेनी सैनिकहरूको नियन्त्रणमा रहेको एक मात्र इलाका हो।

युक्रेनी अधिकारीहरूले करिब १,००० सर्वसाधारण र ५०० बढी घाइते सैनिकहरू उक्त औद्योगिक भवनमा फसेको बताएका छन्।

रुसले ठूलो मात्रामा बमबारी गरिरहेको यो क्षेत्रको व्यापक सहरी इलाकामा करिब १ लाख बासिन्दाहरू पानी र सञ्चारको सुविधा विहीन अवस्थामा रहेको आकलन गरिएको छ।

यसअघि रुसले २५ र २१ जना मानिसहरूको समूहलाई उद्धार गरिएको जनाएको थियो। युक्रेनी सैनिकहरूले शनिवार २० जना उक्त क्षेत्रबाट बाहिरिएको बताएका थिए।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि त्यो परिसर छाड्ने उक्त समूह पहिलो हो।

रुसले चाहिँ पूर्वतर्फको सैनिक कारबाहीलाई तीव्रता दिन खोजेको छ।

उद्धार कार्य भैरहेका क्षेत्र ?

एक हप्ताअघि मारिऊपोल कब्जा भएको बताउँदै राष्ट्रपति पुटिनले आफ्ना फौजलाई भनेका थिए, “यो औद्योगिक क्षेत्रलाई यसरी बन्द गर कि त्यहाँबाट एउटा झिँगा पनि बाहिरिन नसकोस्।”

तर रुसी सञ्चारमाध्यमहरूले शनिवार जनाए अनुसार एजोभस्टाल उद्योग क्षेत्रबाट बाहिरिनेमा १४ वर्षभन्दा मुनिका छ जना बालबालिका छन्। उक्त विवरणमा तिनीहरूलाई कहाँ लगियो भनिएको छैन।

स्टील कारखानामा रहेका सैनिकहरूले पनि त्यसलाई पुष्टि गरेका छन् तर उनीहरूले त्यो समूहमा महिला र बालबालिका गरी २० जना रहेको जनाएका छन्।

एजोभ रेजिमेन्टका उपकमान्डर स्भिआटोस्लाभ पालामारका अनुसार उनीहरूलाई युक्रेनी नियन्त्रणमा रहेको भूभाग जापोरिजामा उद्धार गरेर पुर्‍याइने अपेक्षाका साथ उपयुक्त स्थानमा पठाइएको छ ।

उहाँले बिहान ६ बजेबाट नै मानिसहरूले उद्धार कुरिरहेका भएपनि त्यो सहयोग १२ घण्टापछि मात्रै आएको बताउनुभयो।

क्षतिग्रस्त रुसी एपीसीको अंश निरीक्षण गर्दै युक्रेनी फौज
जापोरिजा क्षेत्रमा क्षतिग्रस्त रुसी एपीसीको अंश निरीक्षण गर्दै युक्रेनी फौज

ती कमान्डरका अनुसार उनको फौजहरूले भग्नावशेषमा फसिरहेका मानिसहरूलाई डोरीको मद्दतले उद्धार गरिरहेका छन्।

उहाँले यो प्रक्रिया जारी रहने र सबै गैरसैनिकलाई उद्धार गर्न आफूहरू सफल हुने अपेक्षा गरिएको बताउनुभयो।

मारिऊपोलका मेयर भडीम बोइचेन्कोले बीबीसीलाई ती मानिसहरू ‘जीवन र मृत्युको दोसाँधपूर्ण ‘अवस्थामा रहेको बताउनुभएको छ।

“मानिसहरूले कुरिरहेका छन्, उनीहरूले उद्धारका लागि प्रार्थना गरिरहेका छन्‘। हामीसँग जीवन रक्षा गर्न कति दिन वा घण्टा छ भन्न गाह्रो छ।”

मारिऊपोललाई नियन्त्रणमा लिँदा त्यसले युक्रेनको सम्पूर्ण दक्षिण तटीय क्षेत्र कब्जा गर्ने मस्कोको योजनालाई सहयोग पुर्‍याउँछ।

उक्त कदमले पूर्वी युक्रेनमा रहेका रुस समर्थक पृथकतावादी क्षेत्रहरू जस्तै दोनेत्स्क र लुहान्स्कलाई सन् २०१४ मा रुसमा गाभिएको क्राइमियासँग एकताबद्ध गराउन मिल्छ।

त्यसले युक्रेनको मल्डोभासँगको पश्चिमी सीमामा अवस्थित रुस पक्षधर ट्रान्जनिस्ट्रिया क्षेत्रसम्म पनि पहुँच वृद्धि गराउँछ।

रुसी गोलाबारी तीव्र
यसैबीच शनिवार दक्षिण पश्चिम बन्दरगाह सहर ओडेसामा तीनवटा ठूला विस्फोटनका आवाज सुनिएको छ।

एउटा क्षेप्यास्त्र हमलाले ओडेसाको विमानस्थलको धावनमार्गलाई कामै नलाग्ने गरी भत्काइदिएको विवरण आएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्यसको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका अधिकारीहरूले प्रत्येक दिन रुसी गोलाबारी वृद्धि भइरहेको बताउनुभएको थियो।

लुहान्स्क क्षेत्रका प्रमुखले रुसले मे नौ तारिख लक्षित गर्दै शक्तिशाली आक्रमण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो।

उक्त दिनलाई परम्परागत रूपमा रुसले दोस्रो विश्व युद्धका समयमा जर्मनी विरुद्ध जीत हासिल गरेको दिनका रूपमा मनाउने गर्छ।

 

Share Now

Leave a comment.