Prakash Adhikari May 2, 2022

काठमाडौँ, १९ वैशाख । नेपाल सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सिंह नेपाल प्रहरीको सेवामा ११ चैत २०४९ मा प्रवेश गर्नुभएको हो। सेवा प्रवेश गर्दा नै सर्वोत्कृत हुनुभएका सिंह हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख हुनुुहुन्छ।

बढुवा हुने क्रममा सिंहले प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवासम्म अग्रता कायम राख्न सफल हुनुभयो। २०६१ मा डीएसपी हुँदा पनि उहाँ नम्बर एक नै बनेर बढुवा हुनुभएको थियो। २०६९ मा एसपी हुँदा पनि सिंह पहिलो नम्बर नै बन्न सफल हुनुभयो।

उहाँको बढुवा हुने क्रममा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा हुँदा उहाँमाथि अन्याय भयो ।

सवारी दुर्घटनामा डीआईजी सुशील भण्डारीको निधनपछि रिक्त स्थानमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ वैशाख २९ मा पोखरेललाई बढुवा गर्यो । पोखरेल डीआईजी भएको करिब १ वर्षपछि २०७७ वैशाख ७ मा सिंह र महानिरीक्षकका अर्का दाबेदार सहकुल थापासहित १० जना डीआईजीमा बढुवा हुनुभएको थियो ।

ओली सरकारले २०७७ मंसिरमा एआईजीमा दरबन्दी थपेर पोखरेलको एकल बढुवा गरेको थियो । एसएसपीसम्म आफू वरीयतामा अगाडि रहे पनि आफूभन्दा दुई ब्याच पछिका पोखरेललाई अचानक  डीआईजी र एआईजी बनाएको भन्दै सिंहले  आफूमाथि अन्याय भएको कुरा उठाउनुभएको थियो ।

पदीय अनुशासनलाई कायम गर्दै उहाँ अन्याय सहेर बस्नुभयो । त्यसको ७ महिनापछि एआईजीको अर्को दरबन्दी थपेर थापालाई एआईजी बनाइयो र स्वभाविक रुपमा पहिलो स्थानमा रहनुपर्ने सिंहलाई तेस्रो स्थानमा पुग्ने बातावरण ओली सरकारले गर्यो ।

महानिरीक्षकका दाबेदार विश्वराज पोखरेल २०७७ मंसिर २५ मा र अर्का दाबेदार सहकुल थापा गत असार २४ एआईजीमा बढुवा हुनुभएको थियो । दुवै बढुवा ओली सरकारको पालामा भएको थियो ।

महानिरीक्षक बन्नुभएका सिंह र रवीन्द्रबहादुर धानुक गत चैत ७ मा एआईजी पदमा पुग्नुभएको थियो ।

महानिरिक्षक सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा रहँदा उहाँको नेतृत्व अब्बल मानिएको छ। जोखिमयुक्त ठाउँको कमाण्ड सम्हालेर अगाडि बढ्न उहाँ सफल हुनुभएको छ। सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिनु हुन्छ।

महानगरीय अपराध महाशाखामा रहँदा ठूला अपराध घटनाको सफल अनुसन्धान गरेर कतिपय हत्या योजनालाई विफल पार्न सफल सिंहले उपत्यकामा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहँदा तस्करी रोक्न सफल सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्वमा रहँदा दर्जनौँ बैङ्किङ कसुर तथा अपराधको अनुसन्धानमा संलग्न हुनुभएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्दा राजनीतिक प्रभावका कारण सिंहलाई पछाडि पारिए उहाँ आफ्नो ड्युटिमा डटेर नै लाग्नुभयो ।

सिंहले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ। सुरक्षा र व्यवस्थापन सम्बन्धी उहाँले विभिन्न तालिम लिनुभएको छ। अपराध अनुसन्धान, व्यवस्थापन, विशेष व्यक्तिको सुरक्षा, मानवस्रोत व्यवस्थापन सम्बन्धी तालिम लिएको अनुभव उहाँसँग छ।

एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी र अमेरिकाबाट अपराध तालिम लिनुका साथै उहाँसँग शान्ति सुरक्षाका लागि पूर्वी टिमोर र सुडानमा गएर काम गर्नुभएको अनुभव छ।

विभागीय जिम्मेवारीका क्रममा उहाँले गोरखा, नुवाकोट, दोलखा, पर्सा र दाङ जिल्लामा प्रहरी प्रमुख भएर काम गर्नुभयो भने संघीय प्रहरी इकाई कार्यालय बागमती, महानगर अपराध महाशाखा, टेकु, लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरसँगै डीआईजी बनेपछि प्रदेश प्रहरी कार्यालय, जनकपुर, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा काम गर्नुभएको थियो।

दैलेख जिल्लाको बिजौरामा स्थायी घर हुनुभएका सिंह प्रहरीभित्र तल्लो तहका कर्मचारीमा विशेष ध्यान दिने स्वभावका हुनुहुन्छ। सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै नेकपा एमालेले नेपाल प्रहरी संगठनमा गरेको राजनीतिकरणको अन्त्य भएको छ। देउवा सरकारले ओलीको गरेको सुनियोजित राजनीतिकरणबाट प्रहरी संगठनलाई जोगाएर संगठनमा वरियता, उत्कृष्ट कार्यसम्पादन र अनुशासन तथा मर्यादाका आधारमा नेतृत्व चयन गर्ने परम्परा कायम गरेको छ ।

Share Now

Leave a comment.