कोलम्बो(श्रीलंका), २९ बैशाख(बीबीसी) । श्रीलंकामा बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ।
बिहीबार राष्ट्रपति गोटवाया राजापाक्षेले नयाँ प्रधानमन्त्रीका रूपमा रनिल विक्रमासिंघेलाई नियुक्त गरेका बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार पूर्व प्रधानमन्त्री रहिसकेका विक्रमासिंघेले नयाँ प्रधानमन्त्रीका रूपमा आजै सपथ लिनुभएको छ ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि देश प्रधानमन्त्री बिहीन थियो।
उहाँले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाउनुभएको थियो।
२ करोड २० लाख जनसंख्या भएको श्रीलंका खाद्यान्न, इन्धन र औषधि र विद्युत अभावका कारण आर्थिक संकटमा फसेको छ। महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो।
केही दिन जारी रहेको यस हिंसामा कम्तीमा ९ जनाको मृत्यु हुनुको साथै २ सय भन्दा बढी घाइते भएका छन्।
नयाँ प्रधानमन्त्री विक्रमासिंघे लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। यसपालि उहाँ छैठौं पटक प्रधानमन्त्री हुनुभएको हो तर उहाँले कहिल्यै पनि आफ्नो पूरा कार्यकाल सम्हाल्न पाउनुभएन।
विक्रमासिंघेलाई राजापाक्षेहरूको निकट मानिन्छ। उहाँले राजापाक्षेहरूको सुरक्षा र आवश्यक परे उद्धार गर्न सक्ने भएकाले उहाँलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ।


















