काठमाडौं, ३१ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। अब पेट्रोल प्रति लिटर रु १७०।- र डिजल तथा मट्टीतेलको बिक्री मूल्य प्रति लिटर रु १५३।- कायम गरिएको छ।
निगमले भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम जुटाउन र निगमको नोक्सानी कम गर्न मूल्य बृद्धि गर्न परेको जनाएको छ ।
निगमले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निगमले मे १,२०२२ अर्थात १८ बैशाख २०७९ मा प्राप्त गरेको नयाँ खरिद लागत मूल्य अनुसार पेट्रोलमा प्रति लिटर २३ रुपैया २ पैसा,डिजेलमा ४० रुपैया १३ पैसा नोक्सान तथा मट्टितेलमा प्रतिलिटर २ रुपैया ८० पैसा नाफा, हवाई इन्धनमा आन्तरिकमा १२ रुपैया ६४ पैसा र बाह्यमा ६४ रुपैया ६९पैसा नाफा र एलपीजी ग्यासमा प्रति सिलिण्डर १०५० रुपैया ८०पैसा नोक्सान भई १५ दिनमा करिब ५ अर्ब १९ करोड नौक्सानी हुने अवस्था थियो ।”
निगमले इण्डियन आयल कर्पोरेशनलाई ८ मेमा भुक्तानी गर्नुपर्ने करिब २५ अर्ब रुपैयामध्ये पेट्रोलियम पदार्थको बिक्रीबाट उठेको करिब १२ अर्ब ५१ करोड रुपैयामात्र भुक्तानी गरेको थियो ।
निगमलाई मे २३ मा अघिल्लो किस्ताको बाँकी र अग्रीम भुक्तानी गरी करिब ३१ अर्ब रुपैया भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । सो को लागि विभिन्न वित्तीय संस्थाहरुबाट सहुलियतमा कर्जा लिन सहयोग गरिदिन निगमले सरकारलाई अनुरोध गरेको छ ।
निगमले डिजल,मट्टितेल र पेट्रोलमा प्रतिलिटर १० रुपैया मूल्यबृद्धि गर्दा संस्थालाई पेट्रोलमा १४ रुपैया ३६ पैसा, डिजलमा ३१ रुपैया ४४ पैसा नोक्सान भएको र मट्टितेलमा प्रति लिटर १२ रुपैया ६४ पैसा नाफा भएको जनाएको छ ।
बढाएको मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा पनि निगमलाई १५ दिनमा ४ अर्ब २५ करोड ३ लाख रुपैया नोक्सानी हुने व्यहोरा विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
निगमले नयाँ बिक्री मूल्य शनिबार राती १२ बजेदेखि लागू हुने जनाएको छ।



















