काठमाडौं, १ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ।
मत गणना भएको पहिलो दिन १४ स्थानको परिणाम सार्वजनिक भयो।
जसमा नेकपा एमाले अगाडि रहेको छ। एमालेले ६ वटा प्रमुख जितेको छ भने उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ। उनीहरुपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन्।
प्रमुख र उपप्रमुखमा कुन दलले कति जिते ?
नेकपा एमालेले ६ वटा स्थानीय तहको प्रमुख जितेको छ भने ५ तहमा उपप्रमुख जितेको छ।
त्यस्तै नेपाली काग्रेसले पाँच स्थानीय तहको प्रमुख र उपप्रमुख जितेको छ। माओवादी केन्द्रले १ स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख जितेको छ।
एकीकृत समाजवादीले २ स्थानमा प्रमुख र १ स्थानमा उपप्रमुख जित हात पारेको छ। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र राप्रपाले प्रमुख र उपप्रमुखमा पहिलो दिन खाता खोल्न सकेनन्।
पहिलो दिनको अग्रता
पहिलो दिनको अग्रता भने नेपाली कांग्रेसलाई मिलेको छ । त नेपाली काग्रेसले २ सय १६ पालिकामा प्रमुखमा अग्रता लिएको छ भने १ सय ७६ पालिकाका उपप्रमुखमा अग्रता लिएको छ।
नेकपा एमालेले १ सय ५५ पालिकामा प्रमुखमा अग्रता कायम गरेको छ भने १ सय ६४ पालिकामा उपप्रमुखमा अग्रता कायम गरेको छ।
माओवादी केन्द्रले ९३ पालिकामा प्रमुखमा अग्रता लिएको छ भने उपप्रमुखमा १२ पालिकामा अग्रता लिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीले २ पालिकामा प्रमुखमा अग्रता लिएको छ भने उपप्रमुखमा १ पालिकामा अग्रता लिएको छ।
एकीकृत समाजवादीले ९ पालिकामा प्रमुखमा अग्रता लिएको छ भने ११ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ।


















