जीवन बीमामा बिग मर्जरको सुरुआत पनि राजेन्द्र खेतानकै अग्रसरतामा, प्राइम, युनियन र गुँरास लाइफ गाभिने
काठमाडौं, १ जेठ । केही समय पहिले एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको मर्जर गराउनुभएका उद्योगी राजेन्द्रकुमार खेतानले जीवन बीमामा पनि मर्जर गराएको श्रेय पाउनुभएको छ । उहाँकै अग्रसरतामा बैशाख २९ गते बिहिबार प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरको संझौता भएको छ ।
बीमा समितिले चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याएपछि बिहीबार प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको हो ।
तीन वटै बीमा कम्पनी गाभिएपछि १ः१ अनुपातमा गाभिए भने कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।
चैत मसान्तसम्म प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ रहेको छ । नौ महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रूपैयाँ रहेको छ ।
यस्तै युनियन लाइफ इन्स्योरेन्सले चालु आवको ९ महिनामा २ करोड ७२ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ३४ करोड २९ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
यस्तै गुँरास लाइफ इन्स्योरेन्सले चैत मसान्तसम्म १३ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ६ करोड ३९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
कुन कम्पनीको लाभांश कति ?
प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६ । ०७७ मा १५.८७ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.८७ प्रतिशत रहेको छ ।
यस्तै गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र०७६ मा ५.७९ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ५.५ प्रतिशत र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश दिएको छ ।
युनियन लाइफ इन्स्योरेन्स नयाँ कम्पनी भएका कारण लाभांश दिएको छैन ।


















