Prakash Adhikari May 28, 2022

 

काठमाडौँ, १४ जेठ । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो ।

यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

परीक्षाको बाहिरी व्यवस्थापन ईपीएस शाखाले गरे पनि परीक्षा लिने काम कोरियाको मानव संसाधन विभाग(एचआरडी)ले गर्ने उहाँले जानकारी दिनुभयो ।

ईपीएस शाखाका अनुसार सन् २०२२ का कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने गरी ९ हजार ६ सय ५४ जनाका लागि आवेदन माग आएकामा करिब ४४ हजारको आवेदन परेको छ ।

कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पीबीटी (पेपरबेस टेस्ट) र कोरिया गएर फर्केकाका लागि सीबीटी (कम्प्युटरबेस टेस्ट) गरिँदै आएकामा यो परीक्षा यूबीटी (युबिक्युट्सबेस टेस्ट) प्रणालीबाट लिइनेछ ।

यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइने जनाइएको छ । परीक्षा सकिएलगत्तै सीप परीक्षण गरेर मात्रै परीक्षार्थी बाहिरन सक्ने जनाइएको छ । उत्पादनमूलक क्षेत्रतर्फको परीक्षाको अर्को चरणमा सूचना गरिने जनाइएको छ ।

सन् २००८ देखि बर्सेनि सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो । ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् ।

कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गदै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।

 

Share Now

Leave a comment.