Prakash Adhikari May 31, 2022

 

काठमाडौं, १७ जेठ । वर्षायामको जोखिम बढेसँगै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गर्न लागिएको बताइएको छ।

मङ्गलवारबाट सुरुङमा पानी प्रवाह क्रमिक रूपमा घटाउन सुरु गरिएको र साँझसम्ममा पूर्ण रूपमा सुरुङको ढोका बन्द गरिसकिने बताइएको छ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार अब मनसुनपश्चात् मेलम्चीमा सफा पानी प्रवाह हुने समय सुरु भएपछि मात्रै पुनः काठमाडौंतर्फ पानी पठाउन सुरु गरिने छ।

विगतमा मेलम्चीमा असोज महिनातिरै सफा पानी प्रवाह हुने गरेको भए पनि हाल नदीको माथिल्लो भागमा बालुवा, माटो र ढुङ्गा जम्मा भएको र त्यो क्रमिक रूपमा पानीमा मिसिएकाले लामो समय धमिलो पानी रहनसक्ने बताइएको छ।

 

हाल वैकल्पिक मार्ग हुँदै सुरुङमा पानी प्रवाह गरिएकाले धमिलो पानी आउँदा समस्या परेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो।

“मुख्य हेडवर्कसमा पानी थिग्र्याउने संरचना छ। त्यसैले सुरुङमा धमिलो पानी जाँदैन। तर त्यो मुख्य संरचना अहिले क्षतिग्रस्त छ”, पन्तले भन्नुभयो।

मङ्गलवार बिहानसम्म आयोजनाले काठमाडौंमा पानी प्रवाह गरेको उहाँले जानकारी दिनुभयो।

आयोजनाबाट काठमाडौंमा प्रतिघण्टा ७ हजार २ सय घनमिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रवाह गरिरहेको थियो।

मेलम्ची

मेलम्ची

हाल त्यसको एकचौथाइ पानी सुरुङबाट प्रवाह भइरहेको बताइएको छ।

मनसुन कहिलेसम्म रहन्छ ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जुन १३ तारिख (जेठ ३० गते)को छेकोमा मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले यसपालि औसतदेखि औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन्।

मनसुनका बेला अधिकतम तापक्रम औसतभन्दा कम हुने देखिएको र न्यूनतम तापक्रम औसत र औसतभन्दा केही बढी हुने देखिएको महाशाखामा वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो।

यो वर्ष मनसुन अक्टोबर महिनाको २ तारिख (असोज १६ गते) आसपासमा सकिने सम्भावना रहेको विज्ञहरूको अनुमान छ।

काठमाडौं उपत्यकामा पानीको माग
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ।

तर वितरण भने मौसमअनुसार फरक पर्छ।

बर्खायाममा ११ करोडदेखि १२ करोड लिटर र सुक्खयाममा आठ करोडदेखि नौ करोड लिटरसम्म पानी वितरण गर्न सकिने केयूकेएलको भनाइ छ।

धारो

धारो

केयूकेएलका अनुसार सामान्यतया असार महिनादेखि असोज दोस्रो हप्तासम्मलाई वेट सीजन अर्थात् बर्खायाम मानिन्छ भने त्यसपछिको समयलाई ड्राई सीजन अर्थात् सुक्खायाम मानिन्छ।

यसअघि मेलम्चीको पानी थपिँदा उपत्यकामा केयूकेएलले झन्डै २७ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

राष्ट्रिय गौरवका आयोजना किन सुस्त?

तर पुरानो संरचनाका कारण प्रवाह गरिने पानीमध्ये लगभग २० प्रतिशत चुहावट हुने गरेको उसको अनुमान छ।

उपत्यकामा मेलम्चीको पानी वितरण हुँदा एक दिन बिराएर पानी दिने गरिएको थियो।

तर त्यस्तो नहुँदा भने सातदेखि १२ दिनसम्मको अन्तरालमा मात्रै पानी दिइने गरिएको थियो।

 

महत्त्वपूर्ण घटनाक्रम
मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा पानी काठमाडौं आइपुगेको थियो।

विसं २०२९ः खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
विसं २०४१ः मेलम्चीसहित २२ विकल्प पहिचान
वि.सं.२०४८ः तात्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईद्धारा नयाँबानेश्वरको चुनावी सभामा मेलम्ची आयोजना सम्पन्न गरेर काठमाडौंमा सडक पखाल्न पुग्ने पानी ल्याउने घोषणा
विसं २०४९ः याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
विसं २०५५ः मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
विसं २०६४ः नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन ( मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
विसं २०७७ फागुन २२ः मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
विसं २०७७ चैत १५ः मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
विसं २०७७ चैत २०ः राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
विसं २०७८ असार पहिलो साताः बाढीबाट ठूलो क्षति

Share Now

Leave a comment.