क्वालालम्पुर(मलेसिया), २५ । आइसीसी यु १९ महिला टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु १९ महिला टी २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।
मलेसियाको युकेएम ओभलमा भएको खेलमा थाइल्याण्डले नेपाललाई ४१ रनले पराजित गर्यो ।
२० ओभारको खेलमा ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो ।
नेपालकालागि सृष्टि जैशीले ७ तथा साना प्रविनले ६ रन बनाइन् । यस्तै अनु कडायतले ५, अञ्जली विश्वकर्मा, कृतिका मरासिनी र मनिषाकुमारी उपाध्यायले तीन। तीन तथा रञ्जु श्रेष्ठ र स्नेहा महराले एक एक रन बनाए ।
नेपाललाई रोक्न थाइल्यान्डकी नथिता बुनसुखमले ३ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोडेको थियो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन ।
यस्तै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन ।
थाइल्याण्डलाई रोक्न बलिङतर्फ नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई,दुई तथा स्नेहा महराले एक विकेट लिइन् ।
यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।
विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने टोली यु १९ महिला टि२० विश्वकपका लागि छनोट हुनेछ ।
नेपालले अन्तिम खेल आयोजक मलेसियासँग खेल्दै छ ।
एशिया छनोटमा युएई,थाइल्याण्ड, नेपाल,मलेसिया, भुटान र कतार सम्मिलित छन् । ।


















