ह्युस्टन(टेक्सास, संयुक्त राज्य अमेरिका), १ आषाढ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत गए राति भएको खेलमा नेपालले ओमानमाथि ७ विकेटको शानदार विजय प्राप्त गरेको छ।
घरेलु टिम अमेरिका, ओमान र नेपालबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा पहिलो जित हात पारेको हो।
बुधबार बिहान टेक्सासको पोर्टल्याण्डस्थित मोसा रंगशालामा सम्पन्न खेलमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३३.१ ओभरमै पूरा गर्यो।
नेपालको जितमा करण के.सी. र ओपनिड. ब्याट्स्म्यान द्वय कुशल भुर्तेल र आसिफ शेखको महत्वपूर्ण भूमिका रह्यो ।
खेलमा कुशलले ५६ रन र आसिफले ६२ रन जोडेका थिए । नेपालका लागि उपकप्तान रोहित पौडेलले नटआउट २६ रन, देव खनालले १० रन, दीपेन्द्रसिंह ऐरीले ७ रन जोडे।
नेपाललाई रोक्न फयाज भटले २ तथा खवार अलीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.५ बलमा १ सय ६३ रनमै अलआउट भयो। उसका लागि कप्तान जीशन मक्सुदले सर्वाधिक ५२ रन र सन्दीप गौडले ४७ रन जोडे।ओमानका जतिन्दर सिंहले २३, फयाज भटले १३, नसिम खुशी १०,कश्यप प्रजापति र शोयब खानले २।२ तथा खवार अली र करिमउल्लाहले १।१ रनको योगदान दिएका थिए ।
ओमानलाई रोक्ने क्रममा नेपालका करण केसीले ५, कप्तान सन्दीप लामिछानेले ३, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १ । १ विकेट लिए।
ओमानलाई पराजित गरेर २ अंक जोडेको नेपाल लिग २ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ। नामिबियालाई पछि पारेको नेपालको १५ खेलबाट १५ अंक हासिल गरेको छ।
छैठौं स्थानमा झरेको नामिबियाको १४ खेलबाट १४ अंक छ। यता लिग २ का सबै खेल खेलिसक्दा शीर्ष स्थानको ओमानको ३६ खेलबाट ४४ अंक हासिल गरेको छ।
दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक, तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक र चौथो स्थानको अमेरिकाको २३ खेलबाट २१ अंक छ। पुछारको पपुवा न्युगिनीको २० खेलबाट २ अंक छ ।


















