काठमाडौं, ५ आषाढ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पटक-पटक अश्लिल शब्द बोलेको र आफू मातहतको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षविरुद्ध हातपात गर्ने सम्मको अशिष्ट व्यबहार गरेको भन्दै उहाँमाथि अनुसन्धान र कारबाही गर्न संसद सचिवालयमा उजुरी परेको छ।
अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई तथा काननुका विद्यार्थी रेजिना पौडेलले सांसद तथा मन्त्री आलेले पटक-पटक अश्लील शब्द बोलेको, मर्यादा कायम नगरेको भन्दै संसद् सचिवालयको आचरण अनुगमन समितिको कार्यालयमा आइतबार उजुरी दर्ता गराउनुभएको छ ।
तीनै जनाले असार ३ गते शुक्रबार सञ्चारमाध्यमहरूमा सुन्नै नसक्ने अडियो र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको समेत जानकारी आएको व्यहोरा निवेदनमा उल्लेख गर्नुभएको छ।
त्यसअघि भारतको मुम्बईमा बस्ने एक युवालाई मन्त्री आलेले सिध्याइदिने धम्कीसहित तथानाम अश्लिल गाली गरेको अडियोको विषयमा पनि सो उजुरीमा समितिको ध्यानाकर्षण गरिएको छ।
“माननीय प्रेम आलेज्युले प्रयोग गर्नुभएका शब्द कदापी समाजमा सुन्न र बोल्नयोग्य होइनन्। के नेपालले जनप्रतिनिधिबाट यस्तै भाषा र व्यबहार स्थापित गर्न खोजेको हो ?”, उजुरीमा भनिएको छ,”यी र यस्तै गतिविधिका कारण आम जनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको संशय पैदा हुनु सवभाविकै हो।”
यस्तै घटना दोहोरिरहने र आचारसंहिता विपरीतका कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आम राजनीतिक दलहरूप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएको भन्दै मन्त्री आलेको अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्न माग गरिएको छ।




















