काबुल(अफगानिस्तान), ८ आषाढ (बीबीसी) । अफगानिस्तानमा एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ५० जनाको ज्यान गएको र कैयौँ घाइते भएको बताइएको छ।
सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन्।
ती तस्बिरहरू पाक्तिका प्रान्तका हुन्।
एक स्थानीय अधिकारीले बीबीसीलाई २ सय ५० जनाभन्दा बढीको ज्यान गएको र त्यो सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।
उनका अनुसार प्रारम्भिक जानकारीमा १ सय ५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ।
भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ।
मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए।
अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर गएको थियो।

भारतसम्म कम्पन
केन्द्रबिन्दुभन्दा ५ सय किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ।
अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।
प्रत्यक्षदर्शीहरूले जनाएअनुसार अफगान राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूकम्पको धक्का पुगेको थियो।
“हिजो पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गयो। भूकम्पका कारण हाम्रा सयौँ नागरिकको ज्यान जाननुका साथै दर्जनौँ घरहरू ध्वस्त भएका छन्”, सरकारका प्रवक्ता बिलाल करिमीले ट्विटरमा लेख्नुभएको छ, “उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गर्छौँ । “


















