क्वाललम्पुर(मलेशिया), १० आषाढ । एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिप अन्तरगत मलेशियामा भैरहेको सेमी फाइनल खेलमा नेपाली चेलीहरुले राम्रो प्रदर्शन गरेका छन् ।
क्वालम्पुरको किनरारा ओभल स्टेडियममा भएको खेलमा टस जितेर पहिले फिल्डिड. रोजेका नेपाली चेलीहरुले तुलनात्मक रुपमा बलियो मानिएको संयुक्त अरब इमिरेट्स(युएई)को टीमलाई ८१ रनमा अल आउट गरेका छन् ।
खेलमा नेपालकी अस्मिना कर्माचार्यले ५, इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिएका थिए ।
समूह ‘बी’ मा रहेको नेपालले यस पहिले लिग चरणका चार खेलबाट ६ अङ्क जोड्दै दोस्रो स्थान सुरक्षित गरेको थियो । समूहमा समान अंक भएपनि हङकङ शीर्षस्थानमा रहेको थियो ।
नेपालले समूहको पहिलो खेलमा भुटानलाई ५० र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपालले तेस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । हंगकंगसंग भने नेपाल ७ विकेटले पराजित भएको थियो ।
उच्च मनोबलका साथ मैदानमा उत्रिएका नेपाली चेलीहरुले आजको सेमीफाइनल खेल जित्ने संभावना बढेको छ ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह बीबाट हंगकंग र नेपाल सेमिफाइनल पुगेका हुन भने समूह ए बाट यूएई र मलेशिया सेमिफानलमा पुगेका हुन ।
आजै अर्को सेमिफाइनल मलेशिया र हंगकंगका बीचमा भैरहेको छ ।
फाइनल खेल २५ तारिखमा हुनेछ


















