Prakash Adhikari June 25, 2022

 

काठमाडौं, ११ आषाढ। पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले गरेको निर्णय केन्द्रीय कमिटी बैठकले एकमतका साथ अनुमोदन गरेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले गत जेठ २२ गते सचिवालय समितिले गरेको मन्त्री फेर्ने निर्णयलाई अनुमोदन गरेको हो ।
यसअघि, शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले पनि सचिवालय समितिको निर्णय अनुमोदन गरेको थियो ।

जेठ २२ गते सम्पन्न सचिवालय समितिको बैठकले पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बढुवा गर्ने निर्णय गरेको थियो ।

 

सचिवालय समिति बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेको महिना दिन पुग्न लाग्दा पनि मन्त्री भने फेरिएका छैनन् । पार्टीले निर्णय गरेतापनि पुराना मन्त्री फिर्ता हुन नमानेपछि नयाँ मन्त्रीले शपथ लिन पाएका छैनन् ।

केन्द्रीय कमिटी बैठकले पनि सचिवालयको निर्णय अनुमोदन गरेपछि अब भने फिर्ता हुन नचाहने मन्त्रीहरुलाई नैतिक दबाब बढेको छ । सम्भवत आजै नभए भोली दिनभरमा एकीकृत समाजवादीका नयाँ मन्त्रीले शपथ लिने एक नेताले बताए ।

मन्त्री फेर्ने सचिवालयको निर्णयलाई केन्द्रीय कमिटीले एकमतका साथ अनुमोदन गरिरहेको बेला चार मन्त्री भने बैठकमा सहभागी भएका थिएनन्् ।

 

Share Now

Leave a comment.