विराटनगर(मोरड.), १५ आषाढ । अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा बाढी आएको छ भने २ हजारभन्दा बढी घर डुबानमा परी बासिन्दाहरु विस्थापित भएका छन् ।
समाचार अनुसार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । खोला तर्ने क्रममा उनलाई बाढीले बगाएर तीन किलोमिटर तल पुर्याएको थियो ।
बाढीले मोरङमा मात्रै करिब १ हजार ५ सय जना प्रभावित भएका छन् । सिंघिया र केसलिया खोलामा तटबन्ध नहुँदा विराटनगरमा हरेक बर्ष बाढी पसेर डुबान हुँदै आएको छ ।
झापामा १ हजारभन्दा बढी घर डुबानमा परेका छन् ।
अविरल वर्षाले सप्तकोसी नदीमा जलस्तर बढेपछि कोसी ब्यारेजसँगै सुनसरी, सप्तरी र उदयपुरमा सतर्कता अपनाइएको छ ।
उदयपुरमा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।
विराटनगरको बजार क्षेत्रबाट पूर्वमा बग्ने सिंघिया र पश्चिममा बग्ने केसलिया खोलाको बाढीले मंगलबार सयौं परिवार विस्थापित भएका छन् ।
महानगरका वडा १, २, ४, ६, ७, ८, ११, १२, १६, १८ र १९ का बासिन्दा प्रभावित भएका छन् । सिंघियाको बाढीले विराटनगर–८ हाटखोलाको सुकुम्बासी बस्तीका २५ घर विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
सिंघियाकै बाढीको जोखिममा रहेका महानगरको वडा २ का १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । छिमेकी कटहरी–१ को टाइगर टोल, हनुमान मन्दिर एरिया र जम्टोकीका १ सय ३० परिवार विस्थापित भएका छन् ।
सिंघिया खोलाको बाढी विराटनगर–२ को सरस्वती बस्तीमा पस्दा २० घर डुबानमा परेका छन्।
बाढीले उत्तरी मोरङमा पनि क्षति पुर्याएको छ । बाहुनीमा खहरे खोला पस्दा ८ घर डुबानमा परेका छन् भने बाढीले विराटनगर, कटहरी, बेलबारीका ७ सयभन्दा बढीले घर छाड्नुपरेको छ । यस्तै, बाढीको पानी पसेपछि बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ । कानेपोखरी, केराबारी, सुनवर्षी, पथरी–शनिश्चरे पनि बाढीले प्रभावित छन् ।
बाढीबाट झापाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काईलगायतका नदीमा आएको बाढीले घर डुबानसँगै दुई हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।
नदी किनारका सुकुम्बासी बस्ती प्रभावित छन् । प्रमुख जिल्ला अधिकारी छवि रिजालले अप्ठ्यारोमा परेका करिब ३ सय जनालाई सुरक्षित स्थलमा सारिएको बताउनुभएको छ ।
गौरादह, गौरीगन्ज, कमल, शिवसताक्षी, बाह्रदशी र भद्रपुरमा पनि बाढी बस्तीमा पसेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–६ तेलिया डाँगीमा रतुवा खोलाको बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन् । भद्रपुरका विभिन्न वडामा मेचीको बाढीले असर पुर्याएको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् भने झापा–१ मिलनबस्तीका ९० घर डुबेका छन् ।
गौरीगन्ज–४ का १५ घर डुबानमा परेपछि प्रभावितलाई नजिकैको स्कुलमा सारिएको छ । बाह्रदशीको गौरीगाउँमा अदुवा खोलाको बाढी पस्दा ७ घरका ३३ जना विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको स्कुल र धर्मशालामा आश्रय दिएर राखिएको प्रहरीले जनाएको छ । झापा गाउँपालिकाका सितुमारी, मिलनबस्ती, सिर्जनाबस्ती, टप्पुबस्तीमा कन्काई नदीको बाढी पस्दा ३ सय ५० घर डुबानमा छन् ।
निरन्तरको वर्षासँगै सप्तकोसी नदीको जलस्तर बढेको छ । मंगलबार दिउँसो ब्यारेजमा पानीको बहाव १ लाख २८ हजार २ सय २५ क्युसेक प्रतिसेकेन्ड थियो । सप्तकोसीमा पानी बढेपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । कोसीमा काठे डुंगा चलाउन, माछा मार्न र बाढीले ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले रोकेको छ । सर्दु, सेउती, सेहरा, सुनसरीजस्ता साना खोलामा पनि बाढी आएको छ ।
मदन भण्डारी राजमार्गको उदयपुर खण्ड विभिन्न स्थानमा अवरुद्ध भएको छ । गिदेरी र सिसुवा खोलाको बाढीले बेलका–४ र ९ का खेतीयोग्य जमिन कटान गरेको छ ।
नदीको बहाव तपेश्वरीतर्फ जान सक्ने भएकाले रोकथाम गर्न सेनाले प्रयास थालेको छ । त्रियुगामा पनि बाढी आएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।


















