काठमाडौं, २७ आषाढ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी केन्द्रीय कायालय सानेपामा बसिरहेको छ ।
बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा दिउँसो १ बजेपछि बसिरहेको छ ।
कांग्रेस बैठकमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा एवम् आगामी निर्वाचन सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यसैगरी, कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संगठनको विधान पारित गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।
पार्टी कार्र्यालयभित्र बैठक बस्ने तरखर चलिरहेको बेला कार्यालय जाने बाटोमा एकत्रित भएका तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले विधान मिच्न पाइदैन भन्ने बैठकमा सहभागी हुन आउने नेताहरुका विरुद्ध नाराबाजी गरेका थिए ।

यद्यपि तरुण दल र नेपाल विद्यार्थी संघका संस्थापन विरोधी कार्यकर्ताहरुले केन्द्रीय समितिको बैठकका दिन पार्टी कार्यालय घेराउ गर्ने हल्ला पिटपछि सानेपा चक्रपथदेखि नै प्रहरी चेकिड. गरिएको थियो ।
तर तरुण दल र नेपाल विद्यार्थीसंघका कार्यकर्ताहरुले वैकल्पिक बाटोबाट पार्टीको केन्द्रीय कार्यालय अगाडिको सडकसम्म पुगेका थिए । उनीहरुले बैठकमा सहभागी बन्न नेताहरु आउदा नाराबाजी गरेका थिए ।
सुरक्षा कर्मीको बाक्लो उपस्थितिको कारण उनीहरुलाई पार्टी कार्यालय अगाडिको गल्लीमा जान भने रोकिएको थियो । पार्टी कार्यालय भने उनीहरु जान सकेनन् ।


















