Prakash Adhikari July 11, 2022

 

अयर(स्कटल्याण्ड), २७ आषाढ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गरेको छ ।

स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा अहिले नामिबियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।

नामिबियाविरुद्ध नेपालका बसिर अहमदले डेब्यु गरेका छन् ।

प्रशिक्षक पुवुदु दसानायकेले बसिरलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युको मौका दिएका हुन् ।

सिरिजको पहिलो खेलमा नेपाल सुखद नतिजा निकाल्ने तयारीमा छ । तर बलियो नामिबियालाई हराउन नेपालले ब्याटिङमा धेरै सुधार गर्नुपर्ने अवस्था छ ।

नेपाल क्यानडामा केही तयारी गरेर लिग–२ खेल्न स्कटल्यान्ड गएको हो । क्यानडामा नेपालले घरेलु टोलीसँग एउटा एकदिवसीय तथा ओन्टारियो क्लबसँग एउटा एकदिवसीय र अर्को टी–२० अभ्यास खेल खेलेको थियो ।

नेपाल घरेलु टोलीसँग पराजित भएको थियो भने ओन्टारियोविरुद्धको अभ्यास खेलमा विजयी भएको थियो ।

नेपाल, नामाबिया र आयोजक स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

लिग–२ मा १६ खेल खेलेको नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । १५ खेल खेलेको नामिबिया १४ अङ्कसहित छैटौं स्थानमा छ । तालिकाको शीर्षस्थानमा रहेको ओमानले सबै ३६ खेल खेल सकेर ४४ अङ्क बनाएको छ ।

दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको यूएईको २२ खेलबाट २६, चौथो स्थानमा रहेको अमेरिकाको २४ खेलबाट २३ र पुछारमा रहेको पपुवा न्युगिनी ९पिएनजी० को २० खेलबाट २ अङ्क छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नामिबियाविरुद्ध नेपाली टोली

सन्दीप लामिछाने(कप्तान), आसिफ शेख(विकेट किपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदील अन्सारी, करण केसी, सोमपाल कामी र बसिर अहमद ।

Share Now

Leave a comment.