सानेपा(ललितपुर), २७ आषाढ ।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन नेपाली कांग्रेसको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सोमबारदेखि सुरु केन्द्रीय समिति बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
“उपसभामुख नहुँदा संवैधानिक परिषदमा प्राविधिक समस्या देखिएको छ। संवैधानिक परिषद्मा देखिएको प्राविधिक समस्या उपसभामुख आए हल हुन्छ”, कांग्रेस प्रवक्ता डा. महतले भन्नुभयो, “हामी उपसभामुखको पनि टुंगो लगाउने कोसिसमा छौँ। उपसभामुख आएपछि समस्या समाधान हुन्छ।”
उहाँले उपसभामुखको निर्वाचन पनि नहुने र संवैधानिक परिषद्को बैठक पनि नहुने कुरा धेरै चल्न नसक्ने पनि स्पष्ट पार्नुभयो।
“उपसभामुखको निर्वाचन पनि नहुने अनि संवैधानिक परिषद्को बैठक पनि नहुने भन्ने हुन्छ र ?” , उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “त्यसकारण आवश्यताअनुसार जहाँ समस्या छ , त्यो सुधार हुन सक्ला। हामी समाधान पनि खोज्छौँ।”


















