Prakash Adhikari July 18, 2022

काठमाडौँ, २ श्रावण । नेपाली कांग्रेसले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह गरेको छ ।
सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आवश्यक कार्ययोजना तयार गर्नसमेत आग्रह गरेको हो ।

“देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढंगले भय सिर्जना गर्ने काम भइरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था कस्तो छ, मुख्य समस्या कहाँ छ, चुनौती के छन्, जोखिम न्यूनिकरण गर्न के गर्न सकिन्छ लगायत विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ”, निर्णयमा भनिएको छ

 

यस्तै अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पनि सरकारलाई नेपाली कांग्रेसले आग्रह गरेको छ ।

दक्षिण एशियाको सम्पन्न र विकसित राष्ट्र भनेर मानिदै आएको श्रीलंकाको अर्थतन्त्र धराशायी भएर राष्ट्रपति गोटाबय राजापाक्षे देश छोडेर सिंगापुर पलायन हुनपर्ने अवस्था आएपछि नेपालमा पनि आर्थिक संकट आइहाल्छ कि भनेर सर्वसाधरण पनि भयभित बनेको अवस्था छ ।

नेपाली कांग्रेसले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो नरहेकोले त्यसबारे सबै नागरिकलाई विश्वस्त पार्न यस्तो श्वेतपत्रको माग गरेको हो ।

श्रीलंकाका लागि अपिल

नेपाली कांग्रेसले सार्क तथा विमस्टेकका क्षेत्रीय सदस्य राज्य श्रीलंकालाई अहिले विद्यमान आर्थिक समस्याबाट बाहिर निकाल्न विश्वसमुदायसंग अपिल पनि गरेको छ ।

श्रीलंकाको स्थितिप्रति भन्ने उपशीर्षकमा नेपाली कांग्रेसले भनेको छ,”मित्रराष्ट्र श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेको घटनालाई यो बैठकले संवेदनशीलतापूर्वक लिएको छ । यो प्रतिकुल स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई यो बैठक अपील गर्दछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पिडामा हरसंभव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ ।”

Share Now

Leave a comment.