Prakash Adhikari July 20, 2022

निरञ्जन राजवंशी

काठमाडौं, ४ श्रावण । नेपाली क्रिकेटका एक सफल प्रशिक्षकको छवि बनाएको भनिने पुबुदु दशानायकेले बुधवार एक पत्रकार सम्मेलनमार्फत् पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ।

श्रीलङ्काली मूलका क्यानेडियन नागरिक पुबुदुले स्कटल्यान्ड भ्रमणमा रहेका बेला गत साता इमेलमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान) लाई राजीनामा दिने जानकारी गराएको बताइएको छ।

गत वर्ष मङ्सिर महिनामा दोस्रो कार्यकालका लागि नेपाली राष्ट्रिय टोली सम्हाल्न आएका दशानायकेले एक वर्ष नपुग्दै पद त्याग्नुभएको हो।

उहाँ दुई वर्षका लागि नियुक्त हुनुभएको हो।

दशानायके

दशानायकेले राष्ट्रिय टोली छोडेका बेला क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्ल भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को वार्षिक साधारणसभामा सहभागी हुन लन्डन पुग्नुभएको छ।

कारण
राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन लगातार खस्किँदै गएका कारण दशानायकेले राजीनामा दिएको कतिपयको भनाइ छ। तर उहाँले व्यक्तिगत कारणले राजीनामा दिएको बताउनुभएको छ।

दोस्रो कार्यकालको आठ महिना बीचमा दशानायकेको नेतृत्वमा नेपालले १४ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलेकोमा ९ मा हार र ४ मा मात्र जित हासिल गरेको थियो।

एक खेल बराबरीमा टुङ्गिएको थियो।

त्यस्तै टी २० क्रिकेटमा भने १३ खेल खेल्दा १० मा जित र ३ मा हार बेहोरेको थियो।

पछिल्लो पटक विश्वकप लिग डिभिजन(२ को अमेरिका र स्कटल्यान्ड भ्रमणमा समेत नेपालको प्रदर्शन राम्रो हुन सकेन।

क्रिकेट

विशेषगरी नेपाली टोलीको ब्याटिङ एकपछि अर्को खेलमा खस्किएको देखिएको थियो।

स्कटल्यान्डमा खेलिएको चारमध्ये तीन खेलमा नेपाल नराम्ररी पराजित हुन पुगेको थियो।

नामिबियासँग दुई खेल हार्दा नेपाल सात राष्ट्र बीचको प्रतिस्पर्धामा छैटौँ स्थानमा झरेको थियो।

“मेरा लागि नेपाल छोड्ने निर्णय लिनु कठिन थियो। यद्यपि मैले यतिबेला राजीनामा दिनै पर्छ,ू उहाँले भन्नुभएको छ, ूनत्र झन् खराब हुनसक्छ।”

प्रशंसनीय विगत
सन् २०११ मा पहिलो पटक नेपाली टोली सम्हाल्दा उहाँले नेपाली क्रिकेटको भाग्य नै बदल्ने गरी काम गरेको टिप्पणी हुनेगर्छ।

त्यतिबेला उहाँले आइसीसी विश्व क्रिकेट लिगको डिभिजन चारमा रहेको टोलीलाई लगातार विजेता बनाउँदै डिभिजन दुईसम्म पुर्‍याउनुभएको थियो।

उहाँकै नेतृत्वमा नेपालले सन् २०१४ को २० ओभरको विश्वकप खेल्यो। जुन नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि मध्येमा पर्छ।

पुबुदु

विशेषगरी दशानायकेले त्यतिबेला पारस खड्का नेतृत्वको नेपाली टोलीलाई खुलेर खेल्ने वातावरण मिलाउन र खेलाडीहरूको व्यक्तिगत प्रतिभालाई उजागर गर्न अहम् भूमिका खेल्नुभएको थियो।

नेपाली खेलाडीहरूलाई खेल जित्ने मनोविज्ञान तयार पार्न समेत उहाँको भूमिका रहेको बताइने गरिन्छ।

सन् २०१५ भने उहाँले यहाँको आन्तरिक किचलो कै कारण नेपाल छोडेको बताइन्छ।

फेरिएको समय
तर गतवर्ष उहाँ फर्किँदा पनि नेपाली क्रिकेटको वातावरण सहज थिएन।

ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै क्यानले कप्तानबाट हटाएको थियो र सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको थियो।

त्यसले नेपाली क्रिकेटमा विवाद कायम रहेको अवस्था थियो।

खेलाडीहरुबीच चरम गुटबन्दी रहेको र उनीहरूमा टीम भावना कमजोर भइरहेको भन्दै आलोचना भइरहेको थियो।

यी सबै समस्याको समाधान दशानायकेको आगमनले हुन सक्ने आशा क्रिकेट वृत्तमा थियो।
तर दशानायके त्यसमा सफल हुन नसकेको देखिएको खेल विश्लेषकहरू बताउँछन्।

उहाँले खेलाडी र आन्तरिक समस्याबाट गुज्रिरहेको क्यानबाट सोचेजस्तो साथ नपाएको बताइन्छ।

जसका कारण कुनैबेला नेपाली समर्थकहरूका प्रिय दशानायके स्वयम् आलोचनाको सिकार बन्न पुगेका थिए।

चिन्ता
अहिलेको अवस्थालाई नेपालले पाएको एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेट अर्थात् ओडीआई मान्यता फेरि गुम्ने पो हो कि ? भन्ने चिन्ता बढेको समयका रूपमा टिप्पणी गर्न थालिएको छ।

ओडीआई मान्यता जोगाउन लिग दुईको शीर्ष पाँचभित्र रहनुपर्छ। जुन सम्भावनामा अहिले कमजोर बनिरहेको देखिन्छ।

यद्यपि नेपाली क्रिकेटसँगको औपचारिक आबद्धता सदाको लागि भन्दै छाडिरहँदा नेपाली क्रिकेटको ओडीआई मान्यता भने नगुम्ने आफ्नो विश्वास रहेको दशनायकेले बताउनुभएको छ।

मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि उहाँले भन्नुभएको थियो, “नेपालको ओडीआई मान्यता भने गुम्ने छैन। नेपाली टोली त्यति कमजोर टोली होइन।”(बीबीसीबाट)

 

Share Now

Leave a comment.