नयाँदिल्ली(भारत), ५ श्रावण(बीबीसी) । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिनुभएको छ। योसँगै उहाँ देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बन्नुभएको छ।
चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उहाँ सन्थाल समुदायकी हुनुहुन्छ ।
राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझसम्म सार्वजनिक गरिएको तेस्रो चरणसम्मको नतिजा अनुसार उहाँ राष्ट्रपति चयन भएको बीबीसी हिन्दीले जनाएको छ।
पचास प्रतिशतभन्दा बढी मत ल्याएपछि राष्ट्रपति बन्ने निश्चित हुन्छ। बिहीवार साँझसम्मको मतगणनामा उहाँले जित्नेमत पाइसक्नुभएको छ।
मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ भने उहाँले आगामी सोमवार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ।
राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान
गर्नुभएको थियो।
उहाँलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उहाँ झारखण्डकी राज्यपाल हुनुहुन्थ्यो।
मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनुहुनेछ। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।
उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुनुहुन्छ।
कार्यकारी शक्ति नहुने सर्वोच्च पद
भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन।
राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता यशवन्त सिन्हालाई पराजित गर्नुभएको हो ।
सिन्हाले मुर्मूलाई जितका लागि बधाई दिनुभएको छ ।
सिन्हा पहिला भाजपामै हुुनुहुन्थ्यो। सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री हुनुहुन्थ्यो।
अहिले भाजपा र मोदीका प्रखर आलोचकका रूपमा सिन्हा चिनिनुहुन्छ।

को हुन् द्रौपदी मुर्मू ?
गत राष्ट्रपतीय निर्वाचनअघि उनलाई उम्मेदवार बनाउनेबारे भाजपाले विचार गरिरहेको हल्ला चलेपछि मुर्मू सन् २०१७ मा चर्चामा आइन्।
त्यस बेला उहाँ झारखण्ड राज्यको गभर्नरका रूपमा कार्यरत हुनुहुन्थ्यो।
उहाँको जन्म १९५८ को जुन २० मा उडिसाको मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा भएको हो।
उक्त समुदाय भारतको सबैभन्दा पुरानो र ठूलो आदिवासी समूहमा पर्छ।
भारतका विभिन्न राज्यमा बाहेक बाङ्ग्लादेशको उत्तरी भेग र पूर्वी नेपालको तराईमा सन्थाल समुदायको बसोबास छ।

द्रौपदी मुर्मू रामनाथ कोविन्दकी उत्तराधिकारी बन्नुहुनेछ ।
मुर्मूका बुवा ग्राम परिषद्का प्रमुख हुनुहुन्थ्यो। उहाँले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गर्नुभयो।
उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम थाल्नुभएकी उहाँ सन् १९७९ १९८३ मा सिँचाइ तथा ऊर्जा विभागमा कनिष्ठ सहायक थिइन्।
उहाँले सन् १९९४ देखि १९९७ सम्म रायरङ्गपुरस्थित अरबिन्दो इन्ट्रिगल एजूकेशन एन्ड रिसर्च सेन्टरमा अध्यापन पनि गर्नुभयो।
राजनीतिक जीवन
द्रौपदी मुर्मूको राजनीतिक जीवन सन् १९९७ मा सुरु भएको हो।
त्यतिबेला उहाँ स्थानीय परिषद् सदस्य चुनिनुभएको थियो।
भाजपाबाट उहाँ राज्यसभामा सन् २००० र सन् २००९ मा गरेर दुई पटक रायरङ्गपुरबाट निर्वाचित हुनुभयो।
सन् २००० देखि २००४ सम्म उडिसा राज्यको गठबन्धन सरकारमा उहाँ मन्त्री हुनुहुन्थ्यो। बिजु जनता दलका नवीन पटनायकले राज्य सरकारको नेतृत्व गर्नुभएको थियो।

भाजपाले राष्ट्रपति पदको उम्मेदवारका रूपमा नाम घोषणा गरेपछि मुर्मूले आफू अचम्भीत भएको बताउनुभएको थियो ।
सुरुमा वाणिज्य तथा यातायातमन्त्री हुनुभएकी उहाँलाई पछि मत्स्य तथा पशु मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
सन् २००६ देखि सन् २००९ सम्म उहाँ उडिसामा भाजपाको अनुसूचित जनजाति मोर्चाकी अध्यक्ष हुनुहुन्थ्यो। भारतको संविधानले आदिवासी समुदायलाई सामाजिक र आर्थिक अवसर नपाएको समुदाय मान्छ।
सन् २०१५ मा उहाँले सक्रिय राजनीति त्याग्नुभयो र छिमेकी राज्य झारखण्डको पहिलो महिला राज्यपालका रूपमा नियुक्त हुनुभएको थियो।
उहाँ राज्यपाल हुने उडिसाकै पहिलो आदिवासी नेता हुनुहुन्छ। राज्यपाल बनेर उहाँले सन् २०२१ को जुलाईसम्म छ वर्ष काम गर्नुभयो।
झारखण्डको राजधानी राँचीमा रहेका बीबीसी हिन्दीका रवि प्रकाशका अनुसार आफ्नो कार्यकालमा मुर्मूले निकै प्रशंसा कमाउनुभएको थियो।
“उनको कार्यालयको ढोका सबै किसिम समुदाय र पेसाका मानिसका लागि खुल्ला थियो”, रवि प्रकाश भन्नुहुन्छ।


















