Prakash Adhikari July 22, 2022

 

हेटौडा, ६ श्रावण । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन वागमती प्रदेशको राजधानी हेटौडामा सुरु भएको छ ।

महाधिवेशनको समुदघाटन गर्दै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमले जनतालाई आर्थिक समृद्धितर्फ डोर्‍याउँछ ।”

प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले पनि देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्ने बानीब्यहोरालाई आत्मसात् गर्नसके मात्र प्रजातन्त्रको सुदृढीकरणमा बल मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको प्रजातन्त्र र राष्ट्रियताको संवर्द्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ ।” प्रधानमन्त्री देउवाले नागरिकता सुलभ ढङ्गबाट उपलब्ध गराउन सरकारले अहिले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी नयाँ विधेयक दर्ता गरेको जानकारी दिनुभयो ।

उहाँले देशमा विद्युतको उत्पादन वृद्धि गरेर बाह्य मुलुकमा निर्यात गर्ने लक्ष्यका साथ आगामी वर्षमा विद्युत् उत्पादनलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोजित गरिएको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले युनियनद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो ।

प्रतिगमन रोक्न गठबन्धन आवश्यक

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले संघर्षले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति र संविधानलाई जोगाउन परिवर्तनका पक्षधरहरुसंग सहकार्य गर्नुपरेको र यसले कांग्रेसलाई फाइदा भएको बताउनुभयो ।

उहाँले २०४६ सालको आन्दोलन, २०६२।६३ को आन्दोलन, अन्तरिम संधिवान निर्माण, अन्तरिम संसद व्यवस्थापिकाको गठन, संविधानसभाको निर्वाचन,संविधानको निर्माणमा पनि दलहरुको सहकार्य सफल भएको उदाहरण पेश गर्दै हालैको स्थानिय निर्वाचनमा भएको परिवर्तनकारी शक्तिहरुको गठबन्धनले प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै नेपाली कांग्रेसलाई नै ठूलो दलको रुपमा स्थापित गराएको बताउनुभयो ।

नेपाल श्रीलंका बन्दैन

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियनले लोकतन्त्रको पक्षमा गर्दै आएको कामको प्रशंसा गर्नुभयो ।

काग्रेसका अर्का उपसभापति धनराज गुरुड.ले मितव्ययिताको शुरुआत सरकार र नागरिक दुवैबाट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान संवैधानिक संरचनाभित्र पनि कांग्रेसको नेतृत्व रहदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विस्तारित हुने र कम्युनिष्ट नेतृत्वको सरकार बन्दा प्रेस तथा अभिव्यक्तिको अधिकार नै खुुम्चिने अवस्था रहेको बताउनुभयो ।

उहाँहरुले प्रेस तथा अभिव्यक्तिको अधिकारमाथि झुण्डिने तरबार हटाउने कार्य नेपाल प्रेस युनियनले गर्दै आएको बताउनुभयो ।

शुक्रवार र शनिबार दुई दिनसम्म चल्ने कार्यक्रमलाई सम्बोधन गर्दै सूचना प्रविधि तथा मन्त्री ज्ञानेन्द्र कार्कीले सरकार र कांग्रेस पार्टीले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै नेपालको पत्रकारितालाई दक्षिण एसियाकै उत्कृष्ट बनाउने बताउनुभयो ।

उहाँले प्रेस स्वतन्त्रताको रक्षामा प्रेस युनियन समर्पित रहेको चर्चा गर्नुभयो । नेपाल श्रीलंका जस्तै बन्ने भ्रमपूर्ण कुरा फैलाएकोमा त्त्यो सत्य भएको स्पष्ट पार्दै सञ्चारमन्त्री कार्कीले नेपालको अर्थतन्त्रमा केही जटिलताहरु देखिए पनि त्यो चाँडै सुधार हुनेमा सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

उद्घाटन समारोहलाई संबोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल प्रेस युनियनले लोकतन्त्रको रक्षा, पत्रकारको पेशागत हकहित र पत्रकारिताको प्रतिष्ठा अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

उहाँले नेपालमा कम्युनिष्ट शक्तिहरुले अफवाह फैलाउने गरेको तर त्यसलाई चिर्ने ढंगले लोकतान्त्रिक समूहबाट त्यतिकै प्रयास नभएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुले राम्रो कामलाई पनि कसरी खराब रुपमा प्रस्तुत गरेर जनतालाई दिग्भ्रमित गराउदा रहेछन भन्ने कुराको ताजा उदाहरण सयुक्त राज्य अमेरिकासंग गरिएको एमसीसी संझौता संसदबाट अनुमोदन गर्ने सन्दर्भमा उदांगो भएको उल्लेख गर्नुभयो ।

प्रेस युनियनको साल २०४८ मा स्थापना भए यता आम नेपाली पत्रकारको क्षेत्रमा गरेका कामहरू, अघिल्ला कालखण्डमा लोकतन्त्रप्रति देखाइएका आस्थापूर्ण प्रमाणहरू अतुलनीय रहेको भन्दै नेपाली कांंग्रेसकी सहमहामन्त्री डिना उपाध्याय, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा शुरु भएको महाधिवेशनको उदघाटन सत्रमा संस्थाको मुखपत्र युनियन पत्रिकाको विमोचन गरिएको छ । नयाँ अध्यक्ष पदका लागि अनिता बिन्दु र शिव लम्साललगायत चुनावी मैदानमा प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल प्रेस युनियनको संशोधित विधान अनुसार नयाँ कार्यसमितिका लागि पदाधिकारीसहित १ सय ४ सदस्यका लागि निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

Share Now

Leave a comment.