Prakash Adhikari July 23, 2022

दमौली(तनहुँ), ७ श्रावण। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका अन्तर्घातीहरुलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

हकांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र अन्तर्घातको शुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ, यसमा समीक्षा हुन जरुरी छ, यसमा आत्मनिरीक्षण हुन जरुरी छ । ”
उहाँले अन्तर्घात गर्ने प्रवृत्तिलाई कसैले पनि ढाकछोप र प्रोत्साहन गर्न नहुने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।

“अन्तर्घाती कुनै न कुनै रुपबाट दण्डित हुनुपर्छ, पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ”, उहाँले भन्नुभयो ।
पैसावालाहरुको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई थियो ।
“यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरामा बढ्दै जान्छ,” वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

उहाँले आदर्श र सिद्धान्तका कारण गठबन्धन नगरिएको बताउँदै कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न यस्तो रणनीति लिन परेको बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गरेर लोकप्रिय काम नगर्ने हो भने सरकारमा बसिरहनुको पनि अर्थ नहुने बताउनुभयो ।

उहाँलेचुनावमा गठबन्धन नगरी बहुमत ल्याउने हो भने लोकप्रिय काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति जितप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, क्षेत्र नं १ का सभापति श्यामकुमार मौराती, २ का सभापति चुडामणि खनाललगायतले कांग्रेसभित्रका कमी–कमजोरी सुधारेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

Share Now

Leave a comment.