Prakash Adhikari July 24, 2022

हेटौडा (मकवानपुर), ८ श्रावण । सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार (७ श्रावण)मा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउने क्रम सुरु भएको छ।

अहिलेसम्म ६ सय मतगणना भएको छ। जसमा संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिनुभएकी वरिष्ठ पत्रकार अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गर्नुभको छ।

त्यस्तै, इतर समूहबाट अध्यक्षको उम्मेदवार हुनुभएका शिव लम्सालले ३ सय २६ मत प्राप्त गर्नुभएको छ।

वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत ल्याउँदा इतर समूहका प्रेम केसी २ सय ९५ मत ल्याउनुभएको छ।

महासचिवमा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र इतर समूहका दिलीप पौडेलले ३ सय ८० मत हासिल गर्नुभएको छ।

शनिबार भएको मतदानमा युनियनका कूल १६७९ केन्द्रीय प्रतिनिधि(पार्षद)हरुमध्ये १३९७ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार युनियनका कूल १ सय २० पदमा १ सय ६९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसमध्ये उपाध्यक्षसहित विभिन्न पदमा ३१ जना निर्विरोध निर्वाचित हुनुभएको छ ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा गत शुक्रबार ६ श्रावणमा महाधिवेशन उद्घाटन  भएको थियो।

महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो।

Share Now

Leave a comment.