Prakash Adhikari August 2, 2022

 

भुवनेश्वर(भारत), १७ श्रावण । भारतमा जारी साफ यू–२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै छ।

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्न लागेको हो। बङ्गलादेशविरुद्ध हुने खेल नेपाली समयानुसार दिउँसो ४ः१५ बजे शुरु हुनेछ।

मंगलबारको खेलमा बंगलादेशलाई कम्तीमा ९–० गोल अन्तरले पराजित गर्न सकेको अवस्थामा मात्र नेपालले फाइनलमा सहजै आफ्नो स्थान सुरक्षित गर्नेछ।

नेपालले बंगलादेशसँग सामान्य जित मात्र हात पारेको अवस्थामा भने फाइनल कुन टिम पुग्नेछन भन्ने कुराको निर्धारण भारत र माल्दिभ्सबीचको खेलको नतिजाले गर्नेछ ।

बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो। बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ। हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। माल्दिभ्स र श्रीलंका १–१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ। भारतसँग ८–० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आवश्यकता परेको हो।

Share Now

Leave a comment.