Prakash Adhikari August 2, 2022

वाशिंड.टन(संयुक्त राज्य अमेरिका),१७ श्रावण(बीबीसी) । अलकायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गर्नुभएको छ।

अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा जवाहिरी मारिएका हुन्।

बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको बताउनुभयो। “अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन्” उहाँले भन्नुभयो।

अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

परिवारका अन्य सदस्यहरू सँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको बताइएको छ।

बाइडनले आफूले ७१ वर्षीय अलकायदा नेता विरुद्ध ‘लक्षित हमला’का लागि अन्तिम स्वीकृति दिएको बताउनुभएको छ।

सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले अल्कायदाको नेतृत्व लिएका थिए।

सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिनलादेन र उनले संयुक्त रूपमा बनाएका थिए। उनी अमेरिकाको ‘मस्ट वण्टेड’ आतङ्कवादी खोजी सूचीमा थिए।

अलकायदा नेता मारिँदा सन् २००१ को आक्रमणबाट पीडितका परिवारहरूलाई न्याय मिलेको महसुस हुने राष्ट्रपति बाइडनले बताउनुभयो।

जवाहिरी सन् २००० मा १७ अमेरिकी सैनिक मारिने गरी भएको विस्फोट लगायत अन्य हिंसात्मक घटनाका पनि योजनाकार रहेको बाइडनले उल्लेख गर्नुभएको छ।

“जतिसुकै समय लागोस्, जहाँसुकै तिमी लुकेर बस यदि तिमी हाम्रा जनताका लागि खतरा छौ भने संयुक्त राज्य अमेरिकाले तिमीलाई बाहिर ल्याएरै छोड्छ”,उहाँले भन्नुभएको छ, “हामी हाम्रो देश र जनताको रक्षा गर्ने कुरामा कुनै सम्झौता गर्दैनौँ।”

तालिबानका प्रवक्ताले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय मान्यताको स्पष्ट उल्लङ्घन भनेका छन्।

“यस्ता कदमहरू विगत २० वर्षका असफल अनुभवको पुनरावृत्ति हुन् र यी अमेरिका, अफगानिस्तान र यो क्षेत्रकै हितको विरुद्धमा छन्”, तालिबान प्रवक्ताले भने।

नेत्र चिकित्सक रहेका जवाहिरीले इजिप्टमा इस्लामिक जिहाद सैन्य समूह स्थापनामा सहयोग गरेका थिए। तर अमेरिकी सैनिकबाट सन् २०११ मा बिनलादेन मारिएपछि उनी अलकायदाको नेतृत्वमा आए।

अल-कायदाका नेता अयमान अल जवाहिरी

अलकायदाका नेता अयमान अल जवाहिरी

कतिपय विज्ञहरूले सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएको शृङ्खलाबद्ध आक्रमण उनकै परिकल्पनामा भएको ठान्ने गरेका छन्।

सन् १९८०को दशकमा इस्लाम सैन्य गतिविधिमा संलग्न भएको कसुरमा थुनामा परेका यी पूर्व चिकित्सक जेलबाट छुटे लगत्तै देश छोडेर जिहादी अभियानमा सक्रिय भएका थिए।

पछि उनी अफगानिस्तान पुगेर साउदी अरेबियाका धनाढ्य बिनलादेनको सङ्गठनमा आबद्ध भए। उनीहरूले संयुक्त रूपमा अमेरिका विरुद्ध युद्धको घोषणा गरेका थिए।

लादेनपछि नेतृत्वमा आएका जवाहिरी अलकायदाको नेतृत्वमा रहे। तर इस्लामिक स्टेट जस्ता नयाँ समूहहरू अगाडी आएपछि उनको प्रभाव पनि कमजोर बनेको थियो।

कोरेरा जवाहिरी अलकायदाको सिद्धान्तकार रहेको बताइन्छ। गत वर्ष अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरेको अमेरिकाले जवाहिरीको हत्यालाई विजयको रूपमा लिएको छ।

अलकायदामा अब नयाँ नेता चुनिने सम्भावना रहे पनि जवाहिरीको प्रभाव पूर्ववर्तीहरूको भन्दा कमजोर हुने ठानिएको छ।

Share Now

Leave a comment.