काठमाडौं, १७ श्रावण । नेपाल श्रीलंका बन्न सक्छ भनेर अभिव्यक्ति दिएको आरोपको सामना गरिरहनुभएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि आमजनतामा मूल्य वृद्धि हुने आतंक फैलाउने प्रतिवेदन प्रकाशन गरेको आरोप लागेको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष तमाम हुन लागेको बेला असार २० देखि २७ गतेसम्म देशका प्रमुख २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत मुद्रास्फिती सर्वेक्षण गरेको थियो ।
११४१ जना सहर निवासी व्यक्तिहरुलाई विभिन्न उपभोग्य बस्तुको मूल्य आगामी ३ महिना र एक वर्षमा घटला कि बढ्ला भनेर सोधिएको काल्पनिक प्रश्नको जवाफमा उत्तरदाताहरुले १४ प्रतिशतसम्म बढ्ने अनुमानित जवाफ दिएका थिए ।
राष्ट्रबैंकले सो सर्वेक्षणको प्रतिवेदन आफ्नो वेभसाइटमा नै राखेको छ ।
सो सम्बन्धी समाचार सार्वजनिक भएपछि लामो समय नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा रहेर काम गरेर विशिष्ट श्रेणीबाट अवकाश लिनुभएका अर्थविद् डा. रेवतबहादुर कार्कीले भन्नुभएको छ, मूल्य स्थिरता कायम गर्ने मुख्य जिम्मेवार लिएको नेपाल राष्ट्र बैकले अन्तरवार्तामा आधारित सर्भेक्षणको आधारमा १४ प्रतिशतको उच्च दरले मूल्य वृद्धि हुँदैछ भनी निष्कर्ष सार्वजनिक गर्दा उपभोक्तामा होर्डिङ गर्ने (स्टक राख्ने) र व्यापारीमा मूल्य बढाउने प्रवृत्ति विकसित भई मूल्य झन बढ्ने स्थिति देखिन्छ ।
उहाँले २०७८ / ७९को ११ महिनामा बिन्दुगत आधारमा ८.६ प्रतिशत र औषत मूल्य वृद्धि ६.१ प्रतिशत मात्र रहेकोको अवस्था स्मरण गराउदै बैकले आफ्नो प्रयोजनको लागि गरेको सर्भेक्षण आफूमा मात्र सीमित गर्नु श्रेयस्कर हुने सुझाव दिनुभएको छ।
उहाँका अनुसार राष्ट्र बैंक जस्तो संस्थाले आगामी ३ महिनामा र एक बर्षमा यति मूल्य बृद्धि हुने अनुमान छ भने सार्वजनिक गर्दा मूल्यबृद्धिको आतंक सिर्जना हुन्छ ।
राष्ट्र बैंकले अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्ति थपिएको छ। सर्वेक्षणका अनुसार ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९४.४ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्य वृद्धि कायम रहने अपेक्षा गरेका छन्।
आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ।
सर्वेक्षण अनुसार गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा बढेको छ ।
तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा घटेको छ ।
तीन महिना पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ ।एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको छ ।
तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन्। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्।
नेपाल राष्ट्र बैंक जस्तो संस्थाले आगामी दिनको काल्पनिक प्रश्नको उत्तर सोध्दा सशर्त प्रश्न राखेको भए नजिता फरक पनि आउन सक्थ्यो । यो बर्षको मूल्यबृद्धि रुस र युक्रेन युद्धको परिणाम हो । रुस र युक्रेनको युद्ध समाप्त भएको अवस्थामा वा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको अवस्थामा मूल्यबृद्धि कति होला भनेर सोधेका भए पक्कै पनि जवाफ फरक हुने थियो ।
एक थरीले राष्ट्र बैंकलाई अनुसन्धान छोडेर आतंक सिर्जना गर्न अग्रसर हुन थालेको आरोप पनि लगाएका छन् ।
अनुसन्धान प्रतिवेदनको पूर्ण पाठलाई तल क्लिक गर्नुहोस् :


















