उमाकान्त खनाल
विर्तामोड(झापा), २७ श्रावण(बीबीसी) । भारतले नेपालमा उत्पादित चिया आयातको मात्रामा प्रतिबन्ध लगाउने परिस्थिति सिर्जना भए नेपालको चिया क्षेत्रमा सङ्कट निम्तिने नेपाली उद्योगीहरूले बताएका छन्।
भारत बाहेकका मुलुकबाट गुणस्तरहीन चिया आयात गर्दा अन्तर्राष्ट्रिय बजारमा भारतको चिया बदनाम भएको भन्दै शुरुआती चरणमा आयातको मात्रामा प्रतिबन्ध लगाउने प्रस्ताव भारतीय संसद्को दुवै सदनमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यसका अतिरिक्त उत्पत्तिको प्रमाणपत्रमा कडाइ गरिने पनि उक्त प्रस्तावमा समेटिएको बताइएको छ ।
भारतीय संसद्को दुवै सदनमा अन्य देशबाट चिया आयातमा कडाइ गरिने प्रस्ताव पुगेपछि अहिले नेपाली चिया उद्योगी चिन्तित बनेका छन्।
भारतको संसद्ले उक्त प्रस्ताव पारित गरेको खण्डमा कम्तीमा केही वर्षका लागि नेपाली चिया उद्योगमाथि सङ्कट निम्तिने एक नेपाली चिया उद्योगीले बताउनुभयो।
नेपालमा चिया उत्पादनको मात्रा बढ्दै गएर भारतीय बजारहरूमा बढ्दो मात्रामा पुग्न थालेपछि भारतका चिया उत्पादकहरूले नेपालको चियालाई गुणस्तरहीन परिभाषित गर्न थालेको नेपालका चिया उत्पादकहरूले बताएका छन्।
नेपालमा चियाका बोट नयाँ र जमिन पनि नयाँ भएकाले भारतको भन्दा नेपालको चियाको गुणस्तर राम्रो रहेको नेपाली चिया उद्यमीहरू दाबी गर्छन्।

चिया बगान
ुुभारतीय चिया उत्पादकहरूले नेपालको चियालाई बदनाम गराउन मात्र खोजेका हुन्,ुुएक जना अर्थोडक्स चिया उत्पादक बुद्ध तामाङले भन्नुभयो।
उहाँका अनुसार नेपालले निर्यात गर्ने करिब ९० प्रतिशत चिया भारतीय बजारमा जाने हुँदा त्यहाँको संसद्मा पुगेको प्रस्ताव पारित भए नेपाली चिया उद्योगले निकै ठूलो सङ्कट सामना गर्नुपर्ने छ।
तामाङ भन्नुहुन्छ, “समाधान नखोजे किसानले आफ्ना बगानका चियाका बोट काट्नुपर्ने समय आउन सक्छ।”
अर्का उद्योगी आदित्य पराजुलीका अनुसार अर्थोडक्स र सीटीसी चिया उत्पादकहरू सबैलाई यसले सङ्कट निम्त्याउँछ।
ुुभारतले आयातको मात्रामा प्रतिबन्ध लगायो र ड्यूटी शुल्क बढायो भने नेपालको चिया उद्योगका लागि अहिलेसम्मकै ठूलो सङ्कटको समय हुनेछ,ुु उहाँले भन्नुभयो।
तर गुणस्तरीय चिया उत्पादन गरेर तेस्रो देश निर्यात गरिरहेका चिया उत्पादकहरूले यो चिया क्षेत्र सुध्रिने समय पनि भएको बताएका छन्।
भारतको बजार कति ठूलो ?
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालका पहाडी तथा पूर्वी तराईको झापालगायतका जिल्लाहरूमा वार्षिक २ करोड ५० लाख किलो चिया उत्पादन हुने गरेको छ ।
नेपालमा उत्पादित चियाको ठूलो बजार भारत नै हो। भारतलगायत अन्य मुलुकहरूमा निर्यात हुने गरेको चियाको परिमाण १ करोड २० लाख किलो रहेको बोर्डले जनाएको छ।
नेपालबाट वार्षिक १ करोड १५ लाख किलो तयारी चिया भारत निर्यात हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ।
चीन चियाका कुरा
नेपालका परराष्ट्रमन्त्री नारायण खड्का भर्खर उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गरेर फर्कनुभएको छ।
चीनका विदेशमन्त्री वाङ यीसँगको भेटपछि परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाली चिया र औषधिका रूपमा प्रयोग गर्न सकिने जडीबुटी निर्यात अनि नेपालमा यी वस्तुको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानकर्ताहरूलाई प्रोत्साहन गर्न चीन सहमत भएको उल्लेख गरिएको छ।
“अहिले एकदम कम मात्रा मात्र चीन जाने गरेको छ । कसैले लिएर गएको वा कुनै माध्यमबाट गएको मात्र हो। तर हाम्रो पहल अब सरकारी तवरबाटै ठूलो परिमाणमा शून्य प्रतिशत भन्सार महसुलमा नेपाली चिया चीनले खरिद गरिदेओस् भन्ने हो”, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले भन्नुभयो।
चिया बगान
बोर्डको तथ्याङ्क अनुसार अहिले वार्षिक रूपमा करिब २ हजार ५ सय किलो चिया चीन जाने गरेको छ ।
केही दिन अघि इलामका प्रतिनिधि सभा सदस्य झलनाथ खनाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला तथा व्यवसायी सम्मिलित टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अहिलेको परिस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री देउवाले पनि गुणस्तरीय चिया उत्पादन गरेर चीनलगायत अन्य मुलुकमा निर्यात गर्नुपर्नेमा जोड दिनुभएको चिया उद्योगीहरूले बताएका छन् ।










