काठमाडौं, १ भाद्र । नेपाल विद्युत प्राधिकरणले इतिहासमै सर्वाधिक मुनाफा गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको र नाफाको ग्राफ अझै बढ्ने कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
बुधवार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताउनुभएको हो ।
उहाँले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताउनुभयो । उहाँले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताउनुभयो । उहाँले वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको बताउनुभयो ।
उहाँले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
उहाँले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो ।
उहाँले प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारेको बताउनुभयो ।
घिसिङले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको बताउनुभयो । उहाँले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको उल्लेख गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिड.ले प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने यसमा लगानी गर्नुपर्ने बताउनुभयो । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारेको बताउनुभयो ।
निर्देशक घिसिङले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताउनुभयो ।
उहाँले विद्युत खपतमा भएको वृद्धि, विद्युत चुहावट नियन्त्रण,प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि, ४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गनुभयो ।
उहाँले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताउनुभयो । घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गर्नुभयो। उहाँँले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताउनुभयो । उहाँले विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मूलमन्त्र भएको पनि बताउनुभयो ।
उहाँले भारतलाई अहिले दैनिक ४०० सय मेगावट विद्युत निर्यात गरिरहेको बताउनुभयो ।
विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको घिसिङको भनाई छ ।
विद्युत प्राधिरकणले आफ्नो करिव २ दर्जन भावी कार्ययोजनाहरू समेत सार्वजनिक गरेको छ । प्राधिकरणको प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्ने योजना अगाडि सारेको छ ।
काठमाडौं लगायतका प्रमुख शहरहरुमा वृद्धि भइरहेको उच्च विद्युत मागलाई सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै लैजाने योजना सार्वजनिक गरेको छ ।


















