काठमाडौं, २ भाद्र । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पूर्ण सफलता मिलेको छ ।
सोमबार आयोजित टानको ४४ औं वार्षिक साधारणसभा एवम् निर्वाचनबाट अध्यक्षमा कांग्रेस निकट पर्यटन व्यवसायी निलहरि बास्तोला बिजयी हुनुभएको छ। निर्वाचनमा निलहरी बास्तोलाको प्यानल नै बिजयी भएको छ।
टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
उहाँले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने बताउनुभयो।
टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने उहाँको भनाइ छ।
उहाँले कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिएर अघि बढ्ने समेत बताउनुभयो।
यसैगरी टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल बिजयी हुनुभएको छ भने प्रथम उपाध्यक्षमा प्रदीप पण्डित । संघका अनुसार द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा र सचिवमा होमनाथ भट्टराई चुनिनुभएको छ।
टानको कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना निर्वाचित भए भने सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पाले जित हात पारेका छन्।
यसैगरी महिला सदस्यमा सजना त्रिपाठी बिजयी हुनुभएको छ भने खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ।
पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८ सय ५० व्यवसायी आबद्ध टानमा १ हजार २ सय ५० मतदाता छन् ।


















