Prakash Adhikari August 26, 2022

काठमाडौँ, १० भाद्र । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेपाली कांग्रेसले तल्ला तहलाई निर्देशन गरेको छ ।

काग्रेस महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम एक साताभित्र उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउन निर्देशन गर्नुभएको छ ।

महामन्त्री थापाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमितिले सो क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठक राखेर उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिनुभएको छ ।

कांग्रेसको विधानबमोजिम प्रत्यक्षतर्फ सहमति नभए बहुमतको प्रक्रियाबाट बढीमा तीन जना र समानुपातिकतर्फ बढीमा दुई जनाको नाममा निर्णय गरी सिफारिस गर्न निर्देशन गरेको छ ।

त्यस्तो निर्णय क्षेत्रीय समितिहरूले भदौ १६ गतेसम्म गरिसक्न र २० गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन गरिएको छ ।

क्षेत्रले गरेका सो निर्णयमा त्योभन्दा माथिका कार्यसमितिहरूले क्रमशः राय राख्ने र सिफारिस गर्नेछन् ।

विधानबमोजिम कांग्रेसको केन्द्रीय संसदीय समितिले उम्मेदवारको चयन गरी मनोनयन दर्ता गराउने व्यवस्था छ ।

समानुपातिक सांसदले दोहोरिन नपाउने

नेपाली कांग्रेसले गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूलाई नदोहोर्याउने भएको छ ।

कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन जारी गरेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १ सय ६५ वटै क्षेत्रीय कार्यसमिति र ३ सय ३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ २०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार सिफारिस नगर्न निर्देशन दिनुभएको छ ।

कांग्रेस विधानको नवौँ संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको छ ।

विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

कांग्रेसको विधानमा एउटै क्षेत्रबाट दुई जना उम्मेदवार नहुने समेत प्रष्ट व्यवस्था गरेको छ ।

 

 

Share Now

Leave a comment.