काठमाडौं, १० भाद्र । बीमा समितिले ७ वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्ने भएको छ ।
समितिले ३ जीवन र ४ निर्जीवन लघु बीमाको लाइसेन्स वितरण गर्ने प्रस्ताव आह्वान गरेको छ।
ग्रामीण क्षेत्रमा लघुबिमा कार्यक्रम पुर्याउन लाइसेन्स दिने प्रक्रिया अघि बढाइएको हो । यसमा इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाले आवेदन पेश गर्न सक्नेछन् ।
लघु बिमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुनुपर्नेछ ।
सूचना प्रकाशित भएको मितिबाट ३५ दिनको १२ बजे भित्र दरखास्त पेश गर्नुपर्नेछ । आवेदकले जीवन र निर्जीवन लघु बिमाका लागि छुट्टाछुट्टै वा दुवैका लागि प्रस्ताव गर्न सकिनेछ ।
संस्थापकहरुले एकै किसिमको बिमा व्यवसाय गर्ने बिमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) हुने गरी त्यस्तो लगानी गर्न भने पाइने छैन।
समितिले कर्पोरेट कार्यालय भने काठमाडौं उपत्यकाबाहिर प्रदेशस्तरमा रहनुपर्ने शर्त बन्देज राखेको छ ।
लगानीकर्ताले आफू कालोसूचीमा नरहेको प्रमाण पेश गर्नुपर्नेछ । आर्थिक वर्ष २०७७।०७८ को कर चुक्ताको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।
समितिमा यसअघि दर्ता भएका प्रस्तावहरू भने रद्द गरिएको बीमा समितिले जानकारी गराएको छ ।


















