काठमाडौं, १२ भाद्र । राष्ट्रपति भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक आज राष्ट्रियसभाको बैठकमा पेश हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक पेश हुने भएको हो ।
सङ्घीय संसद् सचिवालयले आजका लागि तय भएको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने उल्लेख गरिएको छ।
दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारीसमेत सभा समक्ष गराइनेछ ।
संसदको दुुवै सदनले पारित गरी प्रमाणीकरणको लागि पठाइएको नागरिकता विधेयकमा पुनर्विचार गर्न १५ बूँदे सुझाव सहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसद सचिवालयमा फिर्ता पठाउनुभएको थियो ।
राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई प्रतिनिधिसभाले पूर्ववत जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभामा पठाएको छ ।
आफ्ना सुझाबहरु नसमेटिकन जस्ताको तस्तै विधेयक दुवै सदनमा पारित भएर पुनः प्रमाणीकरणको लागि आएमा राजिनामा गर्ने मनस्थितिमा राष्ट्रपति भण्डारी रहनुभएको छ ।
संविधानले पहिलो पटक विधेयक फिर्ता पठाउने अधिकार दिएपनि दोस्रो पटक आएको विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता राष्ट्रपतिमा रहेको छ ।
उहाँले त्यस्तो परिस्थितिमा के गर्ने भनेर सेनाका जर्नेलहरुसंग केही दिन पहिले लिएको परामर्श नेपाली राजनीतिमा निकै आलोचनाको विषय भएको थियो ।
उहाँले नागरिकता विधेयक संसदमा प्रस्तुत भएपछि पत्रकार र कानून व्यवसायी र नागरिक समाजका अगुवाहरुंसंग पनि परामर्श लिइसक्नुभएको छ ।


















