काठमाडौं, १४ भाद्र । नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिलाहरुलाई शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आफ्नो सन्देशमा उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताउनुभएको छ ।
“महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ ।
उहाँले हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै भन्नुभएको छ, “परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ ।”
आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको पनि राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ ।
धार्मिक एवं सांस्कृतिक पर्व र परम्पराको संरक्षण र सम्बर्धनमा प्रतिबद्ध छौ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।
साथै उहाँले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।
प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिनुभएको छ । साथै उहाँले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनीे कामना गर्नुभएको छ ।


















