Prakash Adhikari September 2, 2022

काठमाडौं, १७ भाद्र । संगठित रुपमा देशभर स्वतन्त्र उम्मेद्वार उठाउने अभियानकर्मीहरु पहिलो पाइला नसार्दै प्रतिरक्षात्मक स्थितिमा पुगेका छन् ।

बिहीबार ललितपुरस्थित एक होटलमा भेला भएका स्वतन्त्र अभियानका संभावित उम्मेदवारहरुले गरेको निर्णयले यो स्थिति आएको हो ।

उनीहरुले आगामी निर्वाचनमा संगठित रुपमा उम्मेद्वार उठाएर एकै चुनाव चिन्ह प्रयोग गर्ने निर्णय भएको लौरो चिन्ह निर्वाचन आयोगमा दर्ता गर्ने पार्टीका अध्यक्षका कारण उनीहरु यो अवस्थामा पुगेका हुन् ।

लौरो चुनाव चिन्ह अनन्त घिमिरेको अध्यक्षतामा रहेको ‘हाम्रो नेपाल पार्टी’को नाममा २९ असार २०७९ मा निर्वाचन आयोगमा दर्ता भएको छ । यो पार्टीको कार्यालय लतिलपुर–२, सानेपा रहने विवरण निर्वाचन आयोगमा छ ।

आफूलाई अध्यक्ष दिने शर्तमा स्वतन्त्र अभियानलाई लौरो चिन्ह दिन सहमत हाम्रो नेपाल पार्टीका अध्यक्ष घिमिरेको पृष्ठभूमि विवादास्पद छ । उहाँ मध्यपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ संकायको डीन रहेका बेला अध्ययन विदा लिएर राजनीतिक नियुक्ति लिनु भएको थियो ।

ओली सरकारका बेलामा विदा लिएर अध्ययनमा नगई उर्जा मन्त्रालय अन्तरगतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएको भेटिए पछि उहाँ विवादमा तानिनुभयो ।

घिमिरेले दोहोरो सुविधा उपभोग गरेको देखिएको भन्दै विश्वविद्यालयले उर्जा सचिवलाई पत्र लेखेर नियुक्तिबारे आधिकारिक जानकारी गराइदिन माग गरेपछि उहाँले विद्युत उत्पादन कम्पनी लिमिटेडको पद गुमाउनु परेको थियो ।

त्यस लगत्तै उहाँँ लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त हुनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्कामा मिलेमतो भएको पुष्टि भएपछि उनले १४ चैत २०७८ मा राजीनामा बुझाउनुभयो ।

ठेक्कामा मिलेमतो गरेर फर्जी प्रतिष्पर्धीमार्फत अस्पताल बनाउनलागेको खुलेपछि नयाँ भवनको टण्डर रद्द भएको थियो ।यो अस्पतालको टेण्डर अझै विवादमा रहेको छ ।

लौरो अभियानकर्मीहरुले गत स्थानीय निर्वाचनमा काठमाडौंबाट स्वतन्त्रमा प्रतिष्पर्धा गरेर १३ हजार ७ सय ७० मत ल्याएका सुमन सायमीको नेतृत्वमा आफ्नो अभियान रहेको बताएका छन् ।

काठमाडौंको भित्री नेवारी बस्तीहरुमा सायमी लोकप्रिय रहेको बताइन्छ । उहाँ आफै सामाजिक काममा सर्ने भएकोले उहाँको कामको तारिफ गर्ने प्रशस्त छन् ।

गएको स्थानीय निर्वाचनमा काठमाडौं र धरानमा चुनाव जिताउने लौरो चिन्ह लिन सायमीले विवादमा मुछिएका अनन्त घिमिरेलाई अध्यक्ष मान्ने गरी हाम्रो नेपाल पार्टीमा स्वतन्त्रहरुलाई मिलाउने शर्तमा सौदाबाजी गरिएको बताइएको छ । घिमिरेले सायमीको नेतृत्वमा देशभरका स्वतन्त्र उम्मेदवार एकठाउँमा हुने स्थिति आए लौरे चुनाव चिह्न दिन आफू तयार रहेको घिमिरेले बताउनुभएको थियो ।

निर्वाचनका लागि दल दर्ताको समय सकिएको छ । र लौरी चिन्ह अनन्त घिमिरेको हाम्रो नेपाल पार्र्टीको नाममा छ । अब सामयी नेतृत्वको स्वतन्त्र अभियानले लौरो चुनाव चिन्ह् प्रयोग गर्ने हो भने धिमिरेको हाम्रो नेपाल पार्टीबाट उम्मेद्वारी दिनुपर्दछ । भ्रष्ट्राचार अनियमितताको विरुद्ध जन्मन लागेको स्वतन्त्र अभियान निर्वाचन चिन्हकै लागि भ्रष्टाचार र अनियमिततामा मुछिएका व्यक्तिको पार्टीबाट उम्मेद्वारी दिनुपर्ने स्थितिले सायमीको स्वतन्त्र अभियानकर्मीहरुलाई ठूलो नैतिक संकट परेको छ ।

स्वतन्त्र ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको बताइएको छ । अभियानले काठमाडौं –५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी, काठमाडौं –९ मा विद्या श्रेष्ठ, भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा शिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

Share Now

Leave a comment.