Prakash Adhikari September 24, 2022

 

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई १६ गते सम्म समानुपातिकको बन्दसूची सच्याउन खबरदारी गरेका छन् ।

आज बानेश्वर वैक्वेटमा आयोजित भेलामा कोइराला पक्षीय नेताहरुले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए आफूहरु वैकल्पिक मार्ग अवलम्बन गर्न बाध्य हुने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा भएको ‘खबरदारी सभा’मा नुवाकोटका पूर्वसभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले दिएको नाम समानुपातिकको बन्द सूचीमा समावेश नभएको भन्दै १६ असोजभित्र नसच्याए प्रतिवादमा उत्रिने चेतावनी दिनुभएको थियो ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापतिले पार्टीभन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

उहाँले पार्टी सभापति देउवाले विगतमा ४० प्रतिशतको भाग खोजेको भन्दै शेखर पक्षलाई ४० प्रतिशत दिनैपर्ने बताउनुभयो । ‘महाधिवेशनमा हामीले ४० प्रतिशत मत ल्याएको औचित्य के हो ? हामीलाई ४० प्रतिशत चाहिन्छ चाहिन्छ’ आचार्यले भन्नुभयो ।

नेता गुरुराज घिमिरेले गुटका नाममा आफ्नो वरिपरिका केही मानिसलाई अवसर दिएर पार्टी नबाँच्ने बताउनुभयो । उहाँले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठ्यारो पर्ने उल्लेख गर्दै भन्नुभयो, ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामी नै चिन्दैनौं, यस्तो नाम राख्न कसले दियो अधिकार ?’

पार्टीमा न्यायोचित रुपमा टिकट वितरण भए ४० ६० को गणित आवश्यक नपर्ने तर न्यायोचित भएन भने ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर नहुने उहाँको कथन छ ।

घिमिरेले पार्टीभित्र न्यायोचित अवसरका लागि लड्दा खुट्टा नकमाउन आफ्नो समूहबाट चुनिएका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाउनुभयो ।

पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले विचारको कांग्रेस कि ब्रिफकेसको भनी प्रश्न उठ्न थालेको बताए । कार्यकर्तावादी होइन, कारिन्दावादी कांग्रेस भएको भन्दै उहाँले भन्नुभयो, ‘जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ, हुन्छ । बहुमतको नाममा विभेद गर्न पाइँदैन ।’

डोटीका नेता भरत खड्काले जनताको बीचमा जानुपर्ने बेला न्यायका लागि खबरदारी सभा गर्नुपरेको बताउनुभयो ।

खबरदारी सभामा निवर्तमान सांसद तेजुलाल चौधरीले मधेशमा कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकीबाट शोभा अधिकारीले आफूहरुले पार्टीभित्र न्यायको माग गरेको बताउनुभयो ।

पार्र्टीका पदाधिकारी र डा. शेखर कोइराला पनि उपस्थित नहुनुभएको सो कार्यक्रम नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश नरसिंह के.सीको सभापतित्वमा सञ्चालन भएको थियो ।

Share Now

Leave a comment.