काठमाडौं, २६ असोज । निर्वाचन आयोगले कानून बमोजिम प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार बन्न योग्यता नपुगेका उम्मेदवारहरुकोे मनोनयनपत्र रद्द गरेको छ ।
यसरी मनोनयनपत्र रद्द हुनेहरुमा टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरी, सोही अभियोगमा दोषी ठहर भई सजाँय तोेिकऐक लक्ष्मण थारु, नेपाली कांग्रेस रुकुमपश्चिमका उम्मेद्वार प्रेमप्रकाश ओली र नेकपा एकीकृत समाजवादीका तर्फबाट रुपन्देही २ बाट उम्मेद्वारी दिएका राजु गुरुड.लगायत रहनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टी रेशमको उम्मेदवारीविरुद्ध नेकपा माओवादी केन्द्रका सुरेश पन्थले उजुरी दिएपछि छानबिन थालिएको थियो।
निर्वाचन अधिकृतको कार्यालय बर्दियका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय भएको बताए।
लम्सालका अनुसार चौधरी २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको पत्र काठमाडौंस्थित डिल्लीबजार कारागारले पठाएको थियो।
त्यसैगरी उच्च अदालत डोटीले पनि रेशम दोषी ठहर भएको पत्र पठाएको थियो। त्यहीकारण रेशम प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवारका लागि अयोग्य भएको उहाँले बताउनुभयो।
टीकापुर हत्याकाण्डका मुख्य पात्रका रुपमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहनुभएका चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
चौधरीै २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट लोकप्रिय मतसहित निर्वाचित हुनुभएको थियो तर उहाँले सांसदका रुपमा सपथ लिएर पनि संसदमा प्रवेश गर्न पाउनुभएन।
प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १३ को उपदफा (झ) मा कैदमा बसेकोमा कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने व्यवस्था छ।
लक्ष्मण चौधरीको उम्मेदवारी खारेज
टीकापुर घटनामा दोषी लक्ष्मण चौधरीको उम्मेदवारी खारेज
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिनुभएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले बताउनुभयो।
टीकापुर घटनासम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चौधरीविरुद्ध धनगढी उपमहागरपालिका १५ निवासी प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले उजुरी दिनुभएको थियो।
कांग्रेसका प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज
रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ।
बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भएर सजाय पाएका वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।
माओवादी केन्द्रका प्रदेश सभा (ख) का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोको थियो।
त्यसमाथि छानबिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार वलीको उम्मेदवारी खारेज गरेको हो। उम्मेदवारी खारेजीमा परेका वली रुकुम पश्चिम काग्रेसका सभापति पनि हुनुहुन्छ।
कांग्रेस नेता वलीलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको थियो। तर उहाँले सजाय भुक्तान नगरेकाले अयोग्य रहेको दाबी गरिएको थियो।
वलीको उम्मेदवारी खारेज हुने अनुमानसहित कांग्रेसले यसअघि नै स्वतन्त्रबाट अर्को उम्मेदवारी दिएको थियो।
कांग्रेसले स्वतन्त्रबाट पार्टीकै नेता खड्क डाँगीलाई मैदानमा उतारिसकेको छ।
एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी रद्द
रुपन्देही क्षेत्र नं २ का गठबन्धनतर्फका उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी रद्द भएको छ । निर्वाचन आयोगको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले उहाँको उम्मेद्वारी खारेज गरेको हो।
कार्यालयले सोही क्षेत्रका हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको पनि उम्मेदवारी खारेज गरेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार हिमाल बश्यालको उम्मेदवारी पनि कार्यालयले खारेज गरेको छ।
गठबन्धनका उम्मेदवार गुरुङ नेकपा एमालेका उपाध्क्ष पौडेलका मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।
कार्यालयका अनुसार समाजवादीका गुरुङ र स्वतन्त्र उम्मेदवार बश्यालको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकाले मनोनयन खारेज गर्ने निर्णय गरिएको हो।
यता हाम्रो नेपाल पार्टीका उम्मेदवार भुसालको विरुद्धमा भने उजुरी परेको थियो। उहाँविरुद्ध विष्णु विश्वकर्मा र टोप नारायण पौडेलले कार्यालयमा २४ गते उजुरी दर्ता गरेकामा मंगलबार छानबिन हुँदा सोही निर्देशिकाको दफा १५ को खण्ड ङ अनुसार उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले खारेज भएको कार्यालयले जनाएको छ।



















